नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीचको असमझदारीले सत्तारुढ दलमा ‘सन्नाटा’ छाएको छ।
आइतबार तेस्रो पटक ६ माघसम्मका लागि संसद् बैठक स्थगित भएयताका दुई दिन नेकपाका दुई अध्यक्षबीच संवाद छैन।
प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा व्यस्त छन् भने अर्का अध्यक्ष दाहाल खुमलटार–चितवन आउजाउ गरिरहेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।
मंगलबार प्रधानमन्त्री ओली बालुवाटारमै चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको भेटघाटदेखि उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको प्रतिवेदन बुझ्ने कार्यक्रममा व्यस्त देखिए।
दाहाल भने बिहान पार्टीका नेता भीम रावल, अग्नि सापकोटालगायतसँग अलग–अलग छलफल गरी चितवन पुगेर फर्केका छन्।
नेकपाभित्र सभामुख चयन, विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) का विषयमा पार्टी नेताहरूकै बीचमा तीव्र ‘धु्रवीकरण’ भइरहेको छ।
दुवै अध्यक्ष दुई दिनयता एक-अर्को अध्यक्षले चाल्ने ‘कदम’ को सूक्ष्म अध्ययन गर्दै बसेका छन्। ‘दुवै अध्यक्ष केही दिन पर्ख र हेरको नीतिमा देखिनुभएको छ’, नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘प्रधानमन्त्री आफू अनुपस्थित बैठकको निर्णय दाहालले कसरी कार्यान्वयन गर्न सक्छन् भनेर हेर्न थाल्नुभएको छ, दाहाल पनि प्रधानमन्त्री ओलीको अबको स्टेप के हुन सक्छ भनेर बसिरहेको देखिनुहुन्छ।’
नेकपाभित्रको गाँठो फुकाउन संवादमा बस्नुपर्ने दुवै अध्यक्ष आफूनिकट नेतासँगको संवादमा छन्। दाहाल सचिवालयका एक सदस्यले मंगलबार चितवनबाट साँझ काठमाडौं फर्केर भने, ‘दुई दिनयता संवादमा गतिरोध छ, राजनीति चकमन्न छ।’
अध्यक्षद्वयमा बढेको असमझदारीका कारण उपसभामुख शिवमाया तुम्बाहाङफेको राजीनामा अड्किएको नेकपाका नेता बताउँछन्। ‘उपसभामुखलाई पार्टीभित्रैबाट ब्याकफोर्स रहेका कारण राजीनामा दिनुभएको छैन, यो देखिँदो कुरा हो’, नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने।
शनिबारको सचिवालय निर्णय कार्यान्वयनका सवालमा बालुवाटारमा तुम्बाहाङफेसँग ओली, दाहाल, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलले छलफल गरेका थिए।
छलफलमा तुम्बाहाङफे आफ्नो अडानबाट नगलेपछि उनलाई प्रधानमन्त्रीकै ढाडस रहेको आशंका इतर पक्षका नेताले गरेका छन्।
सभामुख चयनका विषयमा दाहालले वरिष्ठ नेता माधव नेपाल, मात्रिका यादव, देव गुरुङलगायत नेतासँग अनौपचारिक संवाद गरेका छन्। प्रधानमन्त्री ओलीले पनि महासचिव विष्णु पौडेल, ईश्वर पोखरेललगायतसँग संवाद गरिरहेका छन्।

प्रतिक्रिया