छापा खबर


बालुवाटार जग्गा प्रकरणः अख्तियारकै पूर्वकर्मचारी फरार

बालुवाटार जग्गा प्रकरणः अख्तियारकै  पूर्वकर्मचारी फरार

नेपालखबर
असार १३, २०७६ शुक्रबार ०:२९,

बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् ।

लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएका हुन् । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले सो जग्गा व्यक्तिको नाममा फिर्ता गर्न सघाएका थिए । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

अख्तियारले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उनीसहित तीनजनालाई सात दिनभित्र उपस्थित हुन भनेको छ । अन्य दुईजना डा. शोभाकान्त ढकाल र अधिवक्ता रामप्रसाद सुवेदी हुन् ।

उनीहरू बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने मुख्य बिचौलिया हुन् । सो जग्गामा मोही खडा गरेर उनीहरूले आफ्नो नाममा ल्याई पछि अरूलाई बिक्री गरेका थिए । यसअघि बुधबार अख्तियारले ८६ जनालाई पनि उपस्थित हुन सूचना प्रकाशन गरेको थियो । यीमध्ये धेरै मोही छन् ।

सरकारले अधिग्रहण गरेको सो जग्गा ढकाल, सुवेदी, केसीलगायत मिलेर जफत गरेको व्याख्या गरी कांग्रेस नेता सुवर्णशमशेर राणाका सन्तानलाई फिर्ता दिलाएका थिए ।

जब कि सरकारले हाल प्रधानमन्त्री, सभामुख तथा प्रधानन्यायाधीश निवास रहेको जग्गासहित दुई सय ९९ रोपनी जग्गा अधिग्रहण गरेको थियो । सरकारी निवासबाहिर बेवारिसे रहेको जग्गालाई चलखेलका आधारमा फिर्ता गरिएको थियो ।

सो प्रकरणमा अख्तियारले धेरैसँग बयान लिइसकेको छ । उसले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad