छापा खबर


अबको मुख्यसचिव को? फेरियो प्रधानमन्त्री ओलीको योजना

अबको मुख्यसचिव को? फेरियो प्रधानमन्त्री ओलीको योजना

नेपालखबर
पुस २७, २०७६ आइतबार १:५१,

छ महिना अगाडिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास प्राप्त सचिव प्रेमकुमार राईलाई मुख्यसचिव बनाउन लागेको चर्चा निकै चलेको थियो। गत साउन २१ मा राईभन्दा वरिष्ठ सचिवत्रय अर्जुनकुमार कार्की, दीपेन्द्रनाथ शर्मा र विष्णु लम्सालले ५ वर्षे पदावधि पूरा गरी अनिवार्य अवकाश पाएपछि उनी वरिष्ठताका नाताले समेत मुख्यसचिव हुने बाटो खुलेको मानिएको थियो।

मुख्यसचिव निजामती प्रशासनका ७१ जना विशिष्ट श्रेणी (सचिव)लाई संयोजन गर्ने, सरकारका तर्फबाट निर्देशन दिने तथा मन्त्रिपरिषद् बैठकमा कुन एजेन्डा पेस गर्ने र कुन नगर्ने भनेर निर्णय गर्ने आकर्षक पद हो।

मन्त्रिपरिषद्मा सरकार प्रमुखको निकट भएर काम गर्नुपर्ने भएकाले मुख्यसचिव प्रधानमन्त्रीको विश्वासपात्र व्यक्ति नै हुनुपर्ने भएकाले स्वाभाविक रूपमा ओलीको प्रमुख रोजाइमा राई थिए।

सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आकर्षक मुलुकमा राजदूत नियुक्त गरी पद खाली गराएर राईलाई बढुवा गरी निजामती प्रशासनको नेतृत्व सुम्पने तयारीसमेत सुरु गरेको थियो। प्रधानमन्त्री ओलीले रेग्मीलाई राजदूत हुने मुलुक रोज्नसमेत आग्रह गरिसकेका थिए।

‘राईको उमेरका कारण पूरै तीन वर्ष मुख्यसचिव नहुने भएपछि प्रधानमन्त्री ओली राईलाई मुख्यसचिव बनाउने तयारीबाट पछि हटेका हुन्,’ मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो। ५८ वर्षे उमेर हदका कारण राई एक वर्षभन्दा कम समय मात्र मुख्यसचिव हुन्थे।

राईले सचिवको ५ वर्षे पदावधि पूरा गरी आगामी माघ २१ मा अनिवार्य अवकाश पाउँदै छन्। उनीसँगै एकै दिन बढुवा भएका सचिवत्रय गजेन्द्रकुमार ठाकुर, रामकुमार आचार्य, राजन खनालले समेत सोही दिन अवकाश पाउने छन्। राईसँगै १७ जना सचिवमा बढुवा भएका थिए। अरूले ५८ वर्षे उमेर अवधि पुगी यसअघि नै अनिवार्य अवकाश पाइसकेका छन्।

मुख्यसचिव हुने चर्चा सेलाए पनि राईलाई प्रधानमन्त्री ओलीले अर्को आकर्षक पद अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने तयारी गरिरहेको जानकारी स्रोतले दिएको छ। यो खबर आजको कान्तिपुरमा बलराम बानियाँले लेखेका छन्।

अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले ६५ वर्ष उमेर पूरा गरी आगामी असोज २८ मा अवकाश पाउँदै छन्। राईलाई सचिवबाट अवकाश हुनासाथ सुरुमा अख्तियारको आयुक्तमा नियुक्त गर्ने र घिमिरेले अवकाश पाएपछि प्रमुख आयुक्त बनाउने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले उल्लेख गरेको छ।

अख्तियारमा हाल दुई आयुक्त पद रिक्त छन्। राई मुख्यसचिव बन्ने सम्भावना लगभग सकिएपछि रेग्मीपछि निजामती प्रशासनको नेतृत्वमा को पुग्ला भन्ने चासो उठ्न थालेको छ।

राई पछाडिको दोस्रो वरीयताका वरिष्ठ सचिवमा केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटा, महेश दाहाल र शंकर बैरागी छन्। दाहालले ५८ वर्ष उमेर पुगी आगामी जेठमा अवकाश पाउँदै छन्। राईसहितका चार जनाले अवकाश पाएपछि मुख्यसचिव रेग्मीलाई बीचैमा कुनै आकर्षक पदमा नियुक्त गरेर पद खाली गराइयो भने अधिकारी, सापकोटा र बैरागीमध्ये एक मुख्यसचिव हुनेछन्।

रेग्मीलाई तीनवर्षे कार्यकाल पूरा हुनुअगावै बिदा गरिएन भने यी चार जनाको मुख्यसचिव हुने ढोका बन्द हुनेछ। २०७४ कात्तिक ४ मा मुख्यसचिव नियुक्त रेग्मीको तीनवर्षे पदावधि आगामी कात्तिक ३ मा पूरा हुँदै छ । सचिव अधिकारी, सापकोटा, दाहाल र बैरागीले आगामी असोज २२ मै ५ वर्षे पदावधि पूरा गरी अवकाश पाउने छन्। उनीहरू २०७२ असोज २३ मा सचिवमा बढुवा भएका हुन्। उनीहरूसँग एकै दिन बढुवा भएका अरू ५ जनाले ५८ वर्ष पूरा गरी अनिवार्य अवकाश पाइसकेका छन्।

मुख्यसचिव रेग्मी तीनवर्षे पदावधि पूरा गरी अनिवार्य अवकाश हुँदा सचिव चन्द्रकुमार घिमिरे सबभन्दा वरिष्ठका नाताले निजामती प्रशासनको नेतृत्वको स्वाभाविक दाबेदार हुनेछन्। उनी २०७२ माघमा सचिवमा बढुवा भएका हुन्। उनीसँगै बढुवा भएका अरू तीन सचिव शशिशेखर श्रेष्ठ, महेन्द्र गुरुङ र शंकर कोइरालाले ५८ वर्ष पूरा गरी यसअघि नै अनिवार्य अवकाश पाइसकेका छन्।

‘रेग्मीले तीनवर्षे पदावधि पूरा गरी अनिवार्य अवकाश पाएका दिन घिमिरे सबभन्दा वरिष्ठ सचिव हुनेछन् । उनीसँगै सचिव भएका अरूले अवकाश पाइसकेका छन्। वरिष्ठका नाताले उनी नै मुख्यसचिव हुने प्रबल सम्भावना रहनेछ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो । सबभन्दा वरिष्ठ सचिवहरूबाट मुख्यसचिव बनाउने प्रचलन छ।

सरकारले एकैपटक पदोन्नति भएकामध्येबाट वरिष्ठताक्रम मिचेर मुख्यसचिव नियुक्त गर्ने गरे पनि पछिल्लो लटका सचिवबाट भने बढुवा गरेको उदाहरण छैन। सरकारले घिमिरेलाई बनाउन चाहेन भने मुख्यसचिवलाई एक महिना पहिल्यै बिदामा पठाएरसमेत अधिकारी, सापकोटा र बैरागीमध्ये एकलाई मुख्यसचिव बनाउन सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad