संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन्।
इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकविरुद्ध मिसाइल आक्रमण गरेपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासकी डेपुटी चिप अफ मिसन रीता धितालले अमेरिका र इरानबीच द्वन्द्व चर्केपछि यूएईका अधिकारी ‘अलर्ट’ अवस्थामा रहेको बताइन्।
‘अमेरिकी राष्ट्रपति र यूएईका विदेशमन्त्रीको पछिल्लो भनाइले योभन्दा खराब स्थिति नआउला कि भन्ने अपेक्षा गरेका छौं, ’ बुधबार धितालले भनिन्, ‘अवस्था बिग्रियो भने नेपालीलाई कसरी उद्धार गर्ने भन्नेबारे परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क गरिरहेका छौं।’
हाल यूएई काठमाडौं सीधा हवाई उडान भइरहेकाले समस्या आइहाले पनि उद्धारमा कठिनाइ नहुने उनको भनाइ छ। यो खबर आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन्।
अमेरिका–इरान द्वन्द्वको असर इरान, इराक हुँदै खाडी मुलुकमा पर्ने देखिएकाले त्यहाँ कार्यरत नेपलाी त्रसित बनेको कतारको दोहामा कार्यरत बागलुङ, बुर्तिवाङका रमेश घर्तीमगरले बताए। ‘अमेरिका र इरानबीच द्वन्द्व चर्किंदै गएपछि घरबाट पटकपटक कुनै समस्या परेको छ कि भनेर सोधपुछ भइरहेको छ,’ फोनमा उनले भने, ‘धेरैले सोधीखोजी गर्न थालेपछि यहाँका नेपाली त्रसित भएका छन्।’
इरान इराकमा भइरहेको द्वन्द्व मध्यपूर्वसम्म फैलियो भने एकैचोटि ठूलो संख्यामा नेपाली जोखिममा पर्ने भएकाले उद्धारका लागि सरकारी संयन्त्र चनाखो हुनुपर्ने त्यहाँ कार्यरत नेपालीले बताएका छन्।

प्रतिक्रिया