छापा खबर


विना कारण शिक्षकले निर्घात कुटेपछि न्याय खोज्दै विद्यार्थी पुगे प्रहरी कार्यालय

विना कारण शिक्षकले निर्घात कुटेपछि न्याय खोज्दै विद्यार्थी पुगे प्रहरी कार्यालय

नेपालखबर
पुस २१, २०७६ सोमबार २३:५९,

परीक्षा हलमा बसेका १८ वर्षीय प्रिन्सु हमाललाई डायरियाको समस्या थियो।

सुरुदेखि शौचालय जान खोजेका भए पनि परीक्षा गार्डले अनुमति दिएका थिएनन्। दुई घण्टा भएपछि खपिनसक्नु भएर परीक्षा हलबाट निस्किएर शौचालयतिर लागे।

बाहिर निस्कनेबित्तिकै उनको पछाडिबाट कसैले टाउकोमा हाने । फर्केर हेर्दा कम्प्युटर शिक्षक भानुभक्त रेग्मी थिए।

‘मलाई किन पिटेको सर?’ भन्दै प्रश्न गर्दा ‘उल्टै मुखमुखै लाग्छस्’ भन्दै घाँटीमा समाउँदै कुटेको उनले बताए।

झन्डै १५ मिनेट शिक्षकको कुटाइ खाएका प्रिन्सुको घाँटी, टाउको र खुट्टामाचोट लागेको छ। किन पिट्नु भो भन्दा शिक्षकले जवाफ नदिई लात्तैलात्तले कुटेको उनले बताए। यो खबर आजको कान्तिपुर दैनिकमा बाँकेबाट मधु शाहीले लेखेकी छन्।

नेपालगन्जस्थित आदर्श माविमा १२ कक्षामा पढ्ने कोहलपुरका हमाल सोमबार शिक्षकबाट कुटिएका हुन्। बिनाकारण आफूमाथि कुटपिट भएको भन्दै उनले साथीहरूसँग गुहार मागे।

भीडले घेरेपछि प्रहरी पुगेर स्थिति नियन्त्रणमा लिएको हो। शिक्षक रेग्मीको सन्काहा स्वभावले पीडित भएको विद्यार्थीले बताएका छन्।

कक्षा १२ मै पढ्ने दीपक केसीले शिक्षक रेग्मीको ‘सन्की’ स्वभावका कारण आफूले पनि पिटाइ खानुपरेको बताए। कक्षा ११ को परीक्षा चल्दै थियो। कापीमा नबुझेर यहाँ कसको नाम लेख्नुपर्छ सर भनी सोधेका थिए।

त्यतिबेला रेग्मीले ‘तेरो बाउको नाम लेख’ भन्दै टाउकोमा हिर्काएको उनी अझै सम्झन्छन्। साथी प्रिन्सुमाथि कुटपिट भएको यहाँका विद्यार्थीलाई नौलो लागेको छैन। अधिकांशले शिक्षकको मुडमा हरेक विद्यार्थीले कुटाइ खानुपर्ने बाध्यता रहेको बताउँछन्।

घटनाको प्रत्यक्षदर्शी नवीनविक्रम चन्दले शिक्षकको दादागिरीका कारण धेरै विद्यार्थीलाई समस्या रहेको बताए।

टुरमा जाँदा होस् या स्कुलको कक्षाकोठामा। प्रश्न नगर्दै कुटपिट गर्ने शिक्षकविरुद्ध उनीहरूले जिल्ला प्रहरी कार्यालयमा सोमबार उजुरी दिन पुगेका थिए।

‘कुटपिट गर्न पाइँदैन भनेर जिप्रकामा उजुरी दिएका छौं,’ कक्षा १२ मा पढ्ने नवीनले भने, ‘कलेजका प्रिन्सिपलले रेस्टिगेट गर्दिन्छु भनेर धम्की पनि दिएका छन्। हामीमाथि अन्याय भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .