ad ad

समाज


‘राजा’ भागे, ‘प्यादा’ लिएर फर्कंदै चिनियाँ विशेष टोली

‘राजा’ भागे, ‘प्यादा’ लिएर फर्कंदै चिनियाँ विशेष टोली

दीपक खरेल
पुस २१, २०७६ सोमबार १५:५५,

चीनले चरम असन्तुष्टिका बिच नेपालमा पक्राउ परेका १ सय २२ जना आफ्ना नागरिकलाई फिर्ता लैजाँदै छ। चिनियाँ दूतावासले अध्यागमन विभागलाई बुधबार साँझ दुई चार्टर्ड जहाजमा उनीहरुलाई लैजाने औपचारिक जानकारी दिएको हो।

नेपालस्थित चिनियाँ दूतावासले सोमबार अपराह्न अध्यागमन विभागलाई नेपालमा पक्राउ परेका १ सय २२ जनाको इन्ट्री परमिट बुझाएलगत्तै उनीहरुलाई फिर्ता लैजाने प्रक्रिया सुरु भएको हो।

बुधबार साँझ चाइना साउदर्न र चाइना इस्टर्नका जहाजमा क्रमशः ८० जना र ४२ जनाको बेग्लाबेग्लै टोली बनाएर फिर्ता लैजान दूतावासले विभागलाई पत्राचार गरेको छ।

विभागका अनुसार चाइना इस्टर्नमा ४२ जना बुधबार साँझ ७ बजेर १५ मिनेटमा र चाइना साउदर्नमा ८० जना बुधबार साँझ ७ बजेर ४५ मिनेटमा चीन फिर्ता हुनेछन्। विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपालमा पक्राउ परेका १ सय २२ जनालाई अध्यागमन कानुनअनुसार कारबाही गरेर फिर्ता पठाउने अन्तिम तयारी भइरहेको बताए।

उनले नेपाली भूमि प्रयोग गरेर चीनविरुद्ध अपराधमा संलग्न व्यक्तिहरु भोलिका दिनमा नेपालका लागि समेत खतरा बन्नसक्ने बताए। ‘हामी फिर्ता पठाउने अन्तिम तयारीमा छौं,’ महानिर्देशक पौडेलले भने, ‘सम्भवतः बुधबार फिर्ता हुनेछन्।’

‘राजा’ भेटिएनन्, ‘प्यादा’ लिएर फर्कंदै टोली 

चीनको गृह मन्त्रालय (मिनिष्ट्री अफ पब्लिक सेक्युरिटी) को एउटा विभागका निर्देशक वाङवाङ हो काठमाडौं मिसनमा खटिए। त्यसअघि सानो–सानो संख्यामा अनुसन्धान अधिकारीहरु नेपाल आएर अनुसन्धानमा खटिएका थिए। चीनले कम्बोडिया, भियतनाम, फिलिपिन्स र लाओसपछि चीन बिरुद्ध साइबर अपराधको ‘हब’ बन्दै गरेको विशेष सूचना पाएको थियो। नेपाल सरकारबाट यो सूचना पाएपछि उसले एउटा विशेष कारबाहीको पहल थालेको थियो।

चीनले यसका लागि नेपालस्थित दूतावासका अधिकारीहरुलाई खटाएको थियो। उनीहरु औपचारिक रुपमै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय सहित यस मातहतका कार्यालय र विभागका अधिकारीसँग गहन छलफलमा थिए।

नेपालमा पहिचान भएका ७० घरमा राती छापा मार्ने योजना बन्दै थियो। यसका लागि वाङवाङ आफै भेटघाटमा खटिएका थिए। उनले राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभाग हुँदै गृहका उच्च अधिकारीहरुसँग भेटघाट गरे। नेपाल प्रहरीलाई गृहले आवश्यक कारबाहीका लागि निर्देशन दियो। प्रहरीका तर्फबाट तत्कालीन महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेन्द्र थापा क्षेत्रीले नेतृत्व लिएका थिए।

तर, घटना भने जस्तो भएन। केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्वमा महानगरीय अपराध महाशाखा र काठमाडौंको प्रहरीले पुस ७ मा बिहानदेखि छापा मार्न थाल्यो। प्रहरीका तीन इकाईको संयुक्त टोलीले काठमाडौंका नौ घरमा छापा मारेर १ सय २२ जना पक्राउ गरेको थियो।

काठमाडौंमा पक्राउ परेका उनीहरु सबै चीनका विभिन्न प्रान्त र चीनको विशेष प्रशासित हङकङबाट आएका कामदार छन्।

चीनले नेपालमा कारबाही थाल्नु अघि यु आइहाइ, झाङ झाङ्मु र चु चिङलाई खोजीदिन आग्रह गरेको थियो। नेपालमा बिजनेस भिसामा आउजाउ गरिरहेका उनीहरु शंकाको पहिलो घेरामा थिए। यसबाहे याङ डोङ, जिआव चाव, चेन सितियान र वु रोङफेङ समेत चीनको खोजीमा थिए। तर उनीहरु सबै कारबाही अघि र पछि नेपालबाट भाग्न सफल भएकोमा चीनले गृहका उच्च अधिकारीसँग आपत्ती जनाएको छ।

गृहमन्त्रालयका उच्च अधिकारीहरुसँगको भेटमा वाङवाङको नेतृत्वले नेपालमा चीनको फुजियान प्रान्तका एकहजार भन्दा बढी अपराधी सक्रिय रहेको बताएका थिए। यस्तै पहिलो चरणमा ३ सय बढी पक्राउ गरेर उनीहरुलाई देश निकाला गर्न वाङवाङको आग्रह थियो।

तर, प्रहरीले पुस ७ मा काठमाडौंका नौ घरबाट १ सय २२ जनामात्र नियन्त्रणमा लिनुका साथै मुख्य आरोपी भागेपछि वाङवाङको टोलीले ‘अप्रेसन फेल’ भएको निश्कर्ष निकालेको हो।
वाङवाङको टोलीले नेपाली अधिकारीहरुलाई फुजियान प्रान्तबाट बारम्बार नेपाल आउजाउ गर्ने ब्यक्तिहरुका बिषयमा समेत सर्तक रहन आग्रह गरेको छ। यो सँगै अध्यागमन विभागले फुजियानबाट नेपाल आएका चिनियाँ नागरिकका बिषयमा बिस्तृत सूचना जुटाउनुका साथै नेपाल प्रवेशकै क्रममा सोधपुछ थालेको हो।

चिनियाँ विशिष्ठ सुरक्षा टोलीले गृहका अधिकारीहरुसँग यो समुहले चिनियाँ युवाहरुलाई कामदारका रुपमा नेपाल ल्याउने र अपराधमा संलग्न गराउने गरेको जानकारी गराएको थियो। उनीहरुका अनुसार यो समुहले चीनका प्रमुख बैंकहरुको रकम निकाल्ने, अनलाईन जुवा खेलाउने, ब्यक्तिगत सूचना चोरेर धम्काउने तथा फिरौती उठाउने र अश्लिल सामाग्री देखाएर रकम लिने गरेको हो।

प्रहरीले काठमाडौं र ललितपुरका ७० बढी घरबाट चिनियाँ नागरिकले चलाईरहेको साईबर अपराध बिरुद्ध एकसाथ कारबाहीको सूची बनाएपनि पुस ७ मा जम्मा नौ घरमा छापा मारिएको थियो। अझ, प्रहरीलाई ४ अर्व लगानीमा २१ बढी बैधानिक रुपमा खुलेका सफ्टवेयर कम्पनीहरु मार्फत चिनियाँ नागरिकहरुले चीनकै अर्थतन्त्र धरासायी बनाउन साईबर अपराध गरिरहेको जानकारी भएपनि उसले त्यस सूचनालाई बेवास्ता गरेको हो।

याे पनि :पक्राउ परेका १ सय २२ चिनियाँ लिन दुई चार्टर्ड जहाज बुधबार आउँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .