छापा खबर


खाडीका नेपालीबारे चिन्ता : परराष्ट्र र श्रम मन्त्रीको आकस्मिक बैठक

खाडीका नेपालीबारे चिन्ता : परराष्ट्र र श्रम मन्त्रीको आकस्मिक बैठक

नेपालखबर
पुस २१, २०७६ सोमबार ०:५४,

अमेरिका र इरानबीच उत्पन्न तनावसँगै खाडी क्षेत्रमा रहेका नेपालीहरुबारे चिन्ता शुरु भएको छ।

इराक र इरानसँगै अन्य राष्ट्रमा समेत यसको प्रभाव पर्न सक्ने भन्दै परिस्थिति थप चिन्ताजनक भएमा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई कसरी उद्धार गर्ने भन्दै छलफल अघि बढाएको छ।

त्यहाँ समस्या बढ्दै गए नेपालीको उद्धार र सहजीकरण कसरी गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालय आफै अन्यौलमा छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

‘हामीले ती दुई मुलुक हेर्ने दूतावासलाई निर्देशन दिएका छौं भने खाडीमा रहेका अन्य दूतावासलाई पनि त्यहाँको परिस्थिति बारेमा बुझ्न भनेका छौं,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार भने, ‘समस्या बढेमा के गर्ने भनेर छलफल गरिरहेका छौं।’

बैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, दुवै मन्त्रालयका सचिवहरु र परराष्ट्रका खाडी क्षेत्र हेर्ने महाशाखा प्रमुख तथा श्रम मन्त्रालयका अधिकारीहरु सहभागी थिए।

मन्त्रालयले खाडीमा ठूलो समस्या परे के गर्ने भनेर अहिलेसम्म विशेष अध्ययन र बहस गराएको थिएन।

यस्तै समस्या पर्दा पटक–पटक भारतीय कामदारसँग उनीहरुकै सहयोगमा उद्धार गरेका विगत छ। खास परिस्थिति सिर्जना भए समस्या सम्बोधन गर्ने तयारी बैठक भएको जानकारी परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई जानकारी दिएको छ।

अमेरिकाले ड्रोन आक्रमण गरी शुक्रबार सोलेमानीलाई बग्दादमा मारेको अन्तराष्ट्रिय संचार माध्यममा आएको दुई दिनपछि सरकारले त्यहाँ रहेका नेपालीको अवस्थाबारेमा चासो राखेको हो।

इरानले यसको ‘कडा बदला’ लिने घोषणा र पछिल्लो अवस्थाले सरकार बढी नै गम्भीर बनेको छ।

इराकमा रहेका आफ्ना नागरिकमाथि हुनसक्ने सम्भावित आक्रमणबाट जोगाउन अमेरिकाले तत्काल इराक छोड्न सूचना जारी गरेको छ।

अमेरिका र इरानबीच लामो समय देखिको तनाव अहिले थप उत्कर्षमा पुगेको हो।

इराक र इरान दुवै मुलुकमा अमेरिका विरोधी प्रदर्शनहरू भइरहेका छन् भने त्यहाँ अमेरिकी सैन्यको कुनै कारबाही भएका युद्ध भड्कने भनिएको र विश्वका नेताहरुले दुवै तर्फ संयमता अपनाउन भनेका छन।

अमेरिकाले इरानका ५२ स्थानलाई आफ्नो निशानामा राखेको जनाएको छ। यही कारण पनि खाडीमा झन सन्त्रास फैलिएको जानकारी दूतावासले दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad