छापा खबर


गाउँलेको भेलामा धामीले भने- छाउ नबार्दा देउता लागे जिम्मा म लिन्छु!

गाउँलेको भेलामा धामीले भने- छाउ नबार्दा देउता लागे जिम्मा म लिन्छु!

नेपालखबर
पुस १४, २०७६ सोमबार ३:५८,

बाजुराको बडिमालिका नगरपालिका-७ रजातोलीका धामीले नै छाउपडी प्रथा नमान्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बडिमालीका नगरपालिका-७ मा आइतबार आयोजना गरिएको एक कार्यक्रममा छाउपडीको मुख्य थलो मानिने देउता गाउँका धामी र गाउँका ठालुले छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन्।

छाउपडी प्रथा न्यूनीकरणका लागि वडाको पहलमा छाउगोठ भत्काउने प्रतिबद्धतासमेत उनीहरुले व्यक्त गरेका छन्।

देउता गाउँमा सबैभन्दा बढी छाउगोठ रहेको समाचार आइरहेका बेला वडा कार्यालयको आयोजना तथा स्थानीयको सक्रियतामा अभियान चलाइएको वडाध्यक्ष धर्मराज पाध्यायले बताए।

महिलाले महिनावारी र सुत्केरी भएका बेला कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास सुदुर पश्चिममा अझै कायम छ।

यस्तो अवस्थामा बडिमालिका नगरपालिका–७ ले छाउ प्रथा विरुद्ध अभियान सञ्चालन गरको हो।

महिनावारी हुँदा घरदेखि टाढाको झुपडीमा बस्दै आएका सुत्केरी वा रजस्वला भएकी नारीलाई अबदेखि घरमै बस्ने वातावरण मिलाउने र भएका सबै छाउगोठ भत्काइने गाउँका धामी विजयराम पाध्यायले बताए।

यसअघि गाउँ परम्परागत सोच र पुरानो थितिअनुसार चले पनि हालै आएको कानूनले छुवाछूत प्रथालाई निषेध गरेपछि सबैले छाउगोठ हटाउने अभियान सञ्चालन गर्न लागेका हुन्।

महिनावारी हुँदा सफा कोठामा बस्दा देउता पनि नलाग्ने र महिला पनि असुरक्षित नहुने भएकाले गाउँका सबै स्थानीयलाई छाउपडी प्रथा नमान्न सल्लाह दिइएको धामी पाध्यायले बताए।

“म आफैँ देउताको धामी छु। तर तपाइँ कसैलाई महिनावारी भएकी महिलालाई घरमा राखेकै भरमा देउता लाग्यो भने त्यसको जिम्मेवारी स्वयं म लिउँला।

कुनै घण्ट चढाउनु परे पनि म र वडा कार्यालयले जिम्मा लिने छ। तपाईँहरु ढुक्क भएर छाउगोठ भत्काएर घरमै बस्नुहोस्,’ धामी उपाध्यायले भने।

मध्य तथा सुदूरपश्चिमका विकट पहाडी जिल्ला जुम्ला, कालीकोट, दैलेख, डोल्पा, बझाङ, अछाम, बाजुरालगायतका जिल्लामा छाउपडी प्रथा कायमै छ।

छुईका बेला अलग्गै बसेका बेला महिलामा पटक÷पटक अप्रिय घटना हुन थालेपछि यहाँका महिला चिन्तित छन् । विशेषगरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिला यो परम्पराबाट पीडित छन्।

सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको सात दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नुपर्ने बाध्यता रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad