झापाको बिर्तामोड नगरपालिका–३ स्थित शिव कृषि फार्मका सञ्चालक दिनेश ओझाले बाख्राको दूधलाई आम्दानीको स्रोत बनाएका छन्।
ओझाले एक महिनामा १० हजार रुपैयाँ बराबरको बाख्राको दूध बेचेका खबर आजको कारोबार दैनिकमा झापाबाट मनिषा चम्लागाइँले लेखेकी छन्।
डेंगु रोग लागेका बिरामीको लागि भन्दै मानिस बाख्राको दूध लिन उनको फार्ममै पुग्ने गरेका छन्।
‘धेरैजना बाख्राको दूध खोज्दै आउनु हुन्छ,’ ओझाले भने, ‘एक लिटर दूधको एक हजार लिने गरेका छौँ, एकजना बिरामीले पाँच डोजसम्म माग गर्ने गरेका छन्।’
ओझाको फार्ममा उन्नत र स्थानीय जातका गरी ५९ वटा बाख्रा छन्। त्यसमध्ये ३० वटा माउले दूध दिन्छन्।
डेंगु लाग्दा बाख्राको दूध खुवाउनु पर्छ भनेर अरुले भनेको र आफूले पनि बिरामीलाई बाख्राको दूध खुवाउने गरेको बिर्तामोडका साउनिया राजवंशीले बताए।
तर, चिकित्सकले भने डेंगु लागेका बिरामीलाई बाख्राको दूध खुवाउनै पर्ने अनिवार्य नभएको बताएका छन्।

प्रतिक्रिया