चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ।
पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरी अतिक्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एक पक्षीय रूपमा संरचना बनाएको हो।
व्यास गाउँपालिका १ पेल्सिति नजिकै महाकालीमा भारतले अनुमतिबेगर काठेपुल बनाएको खबर दार्चुलाबाट मनोज बडूले आजको कान्तिपुरमा लेखेका छन्।
महाकाली नदी नै प्रभावित हुने गरी भिर कटान गरेर सडक बनाउने कामलाई पनि भारतले तीव्र पारेको छ।
०७४ सालमा पनि भारतीय पक्षले महाकाली नदीमा नेपालको अनुमति नलिईकनै विभिन्न ठाउँमा काठेपुल बनाउनाका साथै नेपाली भूमिमा एक्साभेटर चलाएको थियो।
चिसोका कारण यतिबेला व्यास गाउँपालिका २ दुम्लिङभन्दा माथिको क्षेत्रमा बसोबास छैन। व्यासको छेरुङसम्मै आवतजावत गरिरहेका नेपाली हिमपातपछि तल्लो भेगमा सरेका छन्।

प्रतिक्रिया