छापा खबर


सात वर्षदेखिको रकम असुल्न उखु किसान काठमाडौँ आएपछि उद्योगपति राकेश अग्रवाल फरार

सात वर्षदेखिको रकम असुल्न उखु किसान काठमाडौँ आएपछि उद्योगपति राकेश अग्रवाल फरार

नेपालखबर
पुस १३, २०७६ आइतबार २:३२,

पैंसट्ठी वर्षको पूरै जीवन उनले गाउँमा बिताए । सर्लाहीको सिसौटिया गाउँ नै हरिहर महतोको संसार हो ।

त्यहाँ उनको एउटा झुपडी छ र अलिक पर दुई बिघा खेत । महतोले त्यही घर र खेतको दूरी नापेरै जिन्दगी बिताए । बिहान घरबाट खेतमा जाने र साँझ खेतबाट घर फर्किने नित्य क्रम चलिरहँदा देशमा धेरैखाले परिवर्तन भए ।

खेतको लहलह उखु बाली स्याहार्दास्याहार्दै उनले पाँच वर्षले कान्छी पतियादेवीसँग बिहा गरे, दुई छोरा हुर्काए ।

आक्कलझुक्कल सदरमुकाम मलंगवासम्म पुगेका हरिहर यसपाला भने जीवनकै लामो यात्रा गरे र आइपुगेका छन् संघीय राजधानी काठमाडौं।

उनको दिनचर्या पनि फेरिएको छ अहिले । बिहानै उठ्छन्, माइतीघर मण्डल पुग्छन्, निरक्षर उनी विभिन्न नारा लेखिएको तुलको एक कुना समातेर दिनभरि सडकमा गुडिरहेका गाडीहरू ट्वाल्ल हेरिरहन्छन् ।

घाम डुबेपछि वाग्मतीको किनारमा उभिएको एक झुपडपट्टीमा गएर टाउको घुसार्छन् जहाँ छ महिनादेखि कबाडीको काम गर्दै काठमाडौं सहरलाई दिनहुँ खुट्टाले नापिरहेका उनका जेठा छोरा गणेश बस्दै आएका छन् ।

महतोको यस्तो दिनचर्या शनिबार छैटौं दिनमा चल्दै थियो । ‘मेरो पैसा खाइदियो साहुले,’ उनी भन्छन्, ‘त्यो लिन भनेर काठमाडौं आएको छु ।’

भोजपुरीमा मात्रै बोल्ने र भोजपुरी मात्रै बुझ्ने महतोका कुरा उनीझैं पहिलो पटक काठमाडौं आएका उनका ६० वर्षीय भतिजा सिंगडाले नेपालीमा अनुवाद गरी सुनाए ।

यो खबर आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन्।

महतो परिवारले रगतपसिना एक पारेर लगाएको उखु सर्लाहीस्थित अन्नपूर्ण सुगर मिलले चिनी बनाएर देशभर बेच्यो तर पैसा भने आफैं राख्यो । ‘सात वर्षदेखिको पैसा लिनु छ हजुर,’ काका महतोले याचक दृष्टिले दुःख बेसाए, ‘साहु भागेका छन् ।’

अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाललाई उनले कहिल्यै देखेका छैनन्, त्यसैले देखिहाले चिन्दैनन् । उनै अग्रवालसँग महतोले अढाई लाख लिनु छ । र, त्यही लिन भनी उनी माइतीघरमा रुँगी बसेका छन्, जहाँ अरू पनि धेरै किसान भेटिन्छन्।

संयोग के भने, उनीहरूमध्ये अधिकतरको जीवनमा राजधानीको यो यात्रा पहिलो नै हुन गएको छ ।

‘हामीले धेरै पटक सीडीओलाई भन्यौं, एसपीकामा गएर हात जोड्यौं,’ सर्लाहीका अर्का उखु किसान ४३ वर्षीय मायाशंकर यादवले भने, ‘केही सीप नलागेपछि उसैको घर घेर्न भनेर गाउँबाट हिँड्यौं ।’

यादवले अग्रवालबाट २५ लाख लिन बाँकी छ । कतिपय किसानको त ६० लाखसम्म पनि उठाउनुपर्ने छ । ‘सबै गरेर २५ हजार किसानको ५० करोडजति पैसा उठाउन बाँकी छ,’ उखु किसान संघर्ष समितिका सचिव ३६ वर्षीय हरिश्याम रायले भने, ‘अब पैसा नलिई हामी फर्किन्नौं।’

सर्लाही र रौतहटका किसान खल्तीमा दुई–तीन हजार बोकेर गत साता काठमाडौं जाने बसमा चढेका थिए सर्लाहीबाट ।

उनीहरू कोही सडकपेटीमा सुतिरहेका छन्, कोही लजमा त कोही आफन्त र गाउँलेको झुपडपट्टीमा ।

दिनभरि माइतीघरमा रुँगेर बस्ने अनि साँझ परेपछि तितरबितर भई रात बिताउने उनीहरूको न खानको ठेगान छ न बासको । महतोलाई शनिबार मैले सोधें, ‘कस्तो लाग्यो त राजधानी ?’

‘जाडो लाग्यो हजुर’ पातलो न पातलो धोती–कुर्ता अनि एउटा पातलै मजेत्रोमा पारिलो घाममा पनि चिसोले कक्रिएका उनले भने, ‘काठमाडौं साह्रै जाडो लाग्यो ।’

यो जाडोमा उनको पेटमा भने आगो बल्न थालेको छ । ‘हामी सबैको ल्याएको पैसा सकियो, अब खाने उपाय केही छैन,’ उनी भन्छन्, ‘जाडोले भन्दा भोकैले पहिला मार्लाजस्तो छ।’

उनीहरूले काठमाडौं आएर चार दिन धुइँपत्ताल खोजेपछि राकेश अग्रवालको घर पत्ता लगाए ।

‘उसको घर त्रिपुरेश्वरमा रहेछ,’ यादवले सुनाए, ‘त्यहाँ हामी पुग्दा अग्रवालचाहिँ भागिसकेका थिए ।’उनले अग्रवाललाई हजार पटक फोन गरे होलान् तर एक पटक पनि उठेन ।

‘मान्छे नेपालमै छ, फोन जान्छ, प्रहरीलाई हामीले धेरै पटक हात जोड्यौं,’ संघर्ष समितिका सचिव रायले भने, ‘तर हाम्रो सुनुवाइ भएन ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad