गत बिहीबार पूर्वसचिव शान्तबहादुर श्रेष्ठको आकस्मिक निधन भयो । भाइरस र ब्याक्टेरिया संक्रमण शरीरमा फैलिएर निमोनिया हुँदा उनको निधन भयो ।
ज्वरो आएपछि श्रेष्ठलाई शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएको थियो । चिसोकै कारण उनको शरीरभर निमोनियाले गम्भीर असर पुर्याइसकेको थियो ।
केही दिनयता राजधानी काठमाडौंसहित देशैभर चिसो बढेको छ । चिसोकै कारण रुघाखोकी र निमोनियाका बिरामी बढ्नुका साथै दीर्घरोगीहरूमा गम्भीर समस्या देखिन थालेको छ । ‘फ्लु’ (इन्फ्लुएन्जा) ले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर गर्ने खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारी र विजय कार्कीले लेखेका छन्।
चिकित्सकका अनुसार जाडोयाम र मौसम परिवर्तनको अघिपछि मौसमी रुघाखोकीसहित ज्वरो (सिजनल इन्फ्लुएन्जा) का बिरामी बढ्छन् ।
रुघाखोकीले वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, अंग प्रत्यारोपण गराएका, गर्भवतीलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरू जोखिममा पर्छन् । सरुवारोग अस्पताल टेकुमा कार्यरत डा.शेरबहादुर पुन भन्छन्, ‘मौसमी इन्फ्लुएन्जा सामान्य रुघाखोकीको रूपमा देखा पर्छ । तर, केहीमा जटिलता देखापरी बिरामीको मृत्युसमेत हुने गर्छ।’
उनका अनुसार इन्फ्लुएन्जाविरुद्धको खोप हरेक वर्ष रोग प्रतिरोधात्मक क्षमता कम भएका ६ महिनाभन्दा बढी उमेर समूहका जो कसैले पनि चिकित्सकको सल्लाहअनुसार लिन सक्छन् ।
तर, विशेष गरी ६० वर्ष उमेर पूरा भएकाले अनिवार्य रूपमा लिए राम्रो मानिन्छ । यसलाई सरकारले नियमित खोपको सूचीमा राखेको छैन । उनका अनुसार यो खोपले रुघाखोकीका कारण ज्येष्ठ नागरिकलाई मृत्युको मुखबाट जोगाउन र संक्रमण फैलन नदिन महत्वपूर्ण काम गर्छ । इन्फ्लुएन्जाविरुद्धको खोप एक हजार देखि १३ सय रुपैयाँमा लगाइन्छ।
यसरी बच्न सकिन्छ
रुघाखोकी र निमोनियाबाट केही दिनमा रुघाखोकी ठीक नभए चिकित्सकलाई देखाइहाल्ने।
फ्लुको संक्रमण भएको व्यक्तिलाई तुरुन्त निमोनिया हुन सक्छ, सचेत हुने
संक्रमित व्यक्तिलाई भेट्दा वा सम्पर्कमा आउँदा विशेष सावधानी अपनाउने।
आफूलाई रुघाखोकी वा फ्लु भएको छ भने यो निमोनियाको कारणले पनि हुन सक्छ, यस्तो अवस्थामा खोक्दा वा हाच्छिउँ गर्दा रुमाल वा टिस्यु पेपर प्रयोग गर्ने।
संक्रमित व्यक्ति भर्ना गरिएको वार्डमा जाँदा सुरक्षित हुने
चिसो, धुवाँधुलो र प्रदूषणबाट बच्ने, चिसोमा बालबालिका र वृद्धवृद्धाको विशेष ख्याल गर्ने।
धूमपान नगर्ने, खाना पकाउँदा धुवाँ बाहिर जाने सुधारिएको चुल्हो प्रयोग गर्ने।
Shares

प्रतिक्रिया