ad ad

छापा खबर


इन्टरनेट दुई करोड नेपालीको पहुँचमा

इन्टरनेट दुई करोड नेपालीको पहुँचमा

नेपालखबर
पुस ११, २०७६ शुक्रबार २:१४,

नेपालमा विभिन्न सेवाप्रदायकमार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या दुई करोड पुगेको छ।

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले गत साता सार्वजनिक गरेको एक तथ्यांकअनुसार हालसम्म नेपालमा सिमकार्ड तथा टेलिफोन प्रयोगकर्ता चार करोड २२ लाख ८६ हजार नौ सय छन्।

मोबाइल सिमकार्ड प्रयोगकर्तामध्ये करिब ७५ प्रतिशतमात्रै सक्रिय रहेको अनुमान प्राधिकरणको छ। यस अनुसार हाल चार करोड १४ लाख प्रयोगकर्ता मोबाइलका छन्।

यसमा सक्रिय प्रयोगकर्ता तीन करोड मात्रै रहेको र बाँकी करिब एक करोड सिमकार्ड प्रयोगबिहीन अर्थात निष्कृय रहेको उल्लेख छ। यो खबर अन्नपूर्ण पोष्टमा राजु बास्कोटाले लेखेका छन्।

प्राधिकरणका अनुसार सक्रिय प्रायोगकर्तामध्ये मोबाइल इन्टरनेट सञ्चालन हुने भएकाले हाल नेपालमा मोबाइल डेटा प्रयोगकर्ताको हिस्सा उल्लेख्य छ। मोबाइल तथा ताररहित इन्टरनेट प्रयोग गर्ने उपभोक्ताको कुल बजार ७० प्रतिशत पुगेको छ।

केन्द्रीय तथ्यांक विभागको हालको अनुमानित दुई करोड ९५ लाख १४ हजार सात सयको जनसंख्यालाई आधार बनाएर प्राधिकरणले तयार पारेको असोजसम्म तथ्यांकअनुसार इन्टरनेटमा सबैभन्दा ठूलो हिस्सा मोबाइलको छ।

करिब ५५ प्रतिशत इन्टरनेट प्रयोग मोबाइलबाटै हुने गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

तथ्यांक अनुसार १४.८८ प्रतिशतले फिक्स्ड ब्रोडब्यान्ड (तारसहित) को इन्टरनेट करिब शून्य दशमलव ८८ प्रतिशत र ५४.७४ प्रतिशतले मोबाइल ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने गरेका छन्।

डेटा प्रयोग गर्नेमा टेलिकमका इन्टरनेट प्रयोगकर्ता एक करोड एक लाख २४ हजार सात सय छन्। टेलिकमको इन्टरनेटमा तारसहितको एडीएसएल प्रयोगकर्ता १० लाख, केबल÷एफटीटीएच ५० हजार चार सय र इन्टरनेट लिजलाइनको संख्या करिब एक हजार छ।

यस्तै टेलिकमका ताररहित इन्टरनेट सेवा दिइएको वाईम्याक्स ८९ हजार दुई सय छन्।

मोबाइल इन्टनरेट प्रयोगकर्तामा थ्रीजी प्रयोग गर्ने ७९ लाख ९८ हजार पाँच सय, फोरजी प्रयोगकर्ता आठ लाख ३८ हजार एक सय र ईभिडियो प्रयोगकर्ताको संख्या एक लाख ३६ हजार पाँच सय जना रहेको पनि प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

हाल नेपालमा इन्टरनेट सेवाप्रदायक कम्पनीमार्फत दिइएको इन्टरनेट ३३ लाख ७९ हजार एक सय छ। यसमा हाल प्राधिकरणबाट इन्टरनेट सेवाप्रदायकको अनुमति पाएका ११५ कम्पनीसहित छन्। यी कम्पनीमा सक्रिय सेवा दिने इन्टरनेट कम्पनी भने दुई दर्जन मात्रै छन्।

निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले दिएको सेवाबाट मोबाइल डेटा चलाउने उपभोक्ताको संख्या ६९ लाख ४६ हजार चार सय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .