ad ad

छापा खबर


प्रचण्डले पनि जनाए सहमति, 'सभामुखमा नेम्वाङ पक्का'

प्रचण्डले पनि जनाए सहमति, 'सभामुखमा नेम्वाङ पक्का'

नेपालखबर
पुस ११, २०७६ शुक्रबार २:४,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङलाई उम्मेदवार बनाउन सहमत भएका खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।

संविधानसभाको सभामुख पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका नेम्वाङ नेकपाभित्र सबैले रुचाउने नेतामा पर्छन्।

पछिलो समय पटक–पटक भएको ओली र दाहालबीचको छलफलबाटै नेम्वाङलाई नै सभामुखको उम्मेदवार बनाउने सहमति जुटेको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले नेम्वाङलाई सभामुख बनाउन गरेको प्रस्तावमा अर्का अध्यक्ष दाहालसमेत सहमत भएका हुन्।

यसअघि अध्यक्ष दाहालले सभामुखका लागि नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, स्थायी कमिटीका सदस्यद्वय अग्नि सापकोटा र पम्पा भुसालमध्ये एकलाई बनाउन खोजेका थिए। तर, प्रधानमन्त्री ओलीले नेम्वाङलाई अघि सारेपछि दाहालले त्यसमा सहमति जनाएको बालुवाटार स्रोतले जनाएको छ।

नेकपाको स्थायी कमिटी बैठक आइतबार सकिएपछि सभामुख र उपसभामुखको विषयमा अध्यक्षद्वय ओली र दाहालले निरन्तर छलफल सुरु गरेका हुन् । निवर्तमान सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएर राजीनामा दिएपछि सभामुखको निर्वाचन गर्नुपरेको हो।

उपसभामुख डा. शिवमाया तुम्बाङ्फेलाई राजीनामा गराउने सहमति यसअघि नै भइसकेको छ।

सुरुमा तुम्बाङ्फेलाई नै सभामुख बनाउनुपर्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समेत लबिङ गरेकी थिइन् । संसद्को हिउँदे अधिवेशन सुरु भएसँगै नयाँ सभामुख र उपसभामुखका लागि चर्चा सुरु भएको हो।

शुक्रबार बस्ने बैठकबाट निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ । यसअघि नेम्वाङ, गुरुङ, सापकोटा, भुसाल, तुम्बाङ्फे सभामुखका दाबेदार भए पनि नेम्वाङ नै सभामुख हुने पक्का भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .