छापा खबर


विमान अपहरणका २० वर्ष : कसरी पुग्यो विमानसम्म हतियार?

विमान अपहरणका २० वर्ष : कसरी पुग्यो विमानसम्म हतियार?

नेपालखबर
पुस १०, २०७६ बिहिबार १:४,

ठीक २० वर्षअघि ९ पुस ०५६, काठमाडौंमा अन्य दिनभन्दा चिसो बढेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू तोकिएको समयमा हुन सकेका थिएनन् । इन्डियन एयरलाइन्सको आइसी-८१४ विमानको काठमाडौं–दिल्ली उडान समय दिउँसो २ बजेको थियो ।

तर, ४ बजे मात्र उडान भयो । त्यस दिन काठमाडौंको मौसम मात्र होइन, विमानस्थलको सुरक्षा व्यवस्था पनि खराब थियो ।

विभिन्न देशका एक सय ७६ यात्रु बोकेको यो विमान काठमाडौंबाट उडेको केही मिनेटमै हाइज्याकरको कब्जामा पुग्यो ।

यो घटनाले विश्वमै ठूलो हचचल मच्चायो । नेपालको सुरक्षा व्यवस्थाको चर्को आलोचना पनि भयो । सरकारले विभिन्न छानबिन समिति गठन गर्‍यो ।

तर, २० वर्ष बित्दा पनि अपहरणकारीले कसरी विमान अपहरण गरे भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । बुधबार यो घटनाको ठीक २० वर्ष पुगेको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

घटनापछि सरकारले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमबहादुर सिंहको अध्यक्षतामा छानबिन समिति बनाएको थियो । समितिले त्यतिवेला विमानस्थलमा खटिएका प्रहरी, कर्मचारीलगायतसँग सोधपुछ गरेको थियो ।

‘तर, विमानसम्म हतियार लैजान अपहरणकारी कसरी सफल भए भन्ने कुरा पत्ता लाग्न सकेन, अहिलेसम्म रहस्यमै छ,’ त्यतिबेला नागरिक उड्डयन प्राधिकरणको सुरक्षा महाशाखामा कार्यरत भरत ढकालले भने । प्राधिकरणको निर्देशक भएर ढकालले अवकाश पाइसकेका छन्।

विमान अपहरणका लागि हर्कत उल मुजाहिद्दीनले दुई महिनाअघि नै आफ्ना सदस्यहरूलाई काठमाडौं पठाएको थियो । तर, उनीहरूले कसरी विमानसम्म हतियार पु¥याएर अपहरण सफल बनाए भन्ने खुल्न सकेन।

छानबिनको क्रममा विमानस्थलमा कार्यरत कुनै कर्मचारी र सुरक्षाकर्मीेले उनीहरूलाई सघाएको देखिएन । त्यतिबेला विमानस्थल प्रहरी प्रमुखमा कार्यरत एसपी विनोद सिंह विमान अपहरणमा नेपाली अधिकारीहरूको कुनै गल्ती नभएको दाबी गर्छन्।

‘अपहरणकारीले कसरी हतियार छिराए भन्ने पत्ता लागेन,’ एआईजीबाट अवकाश पाइसकेका सिंहले भने, ‘विमानमा देखाएको पेस्तोल नक्कली पनि हुनसक्छ, चक्कु भनेर झुक्याएर लगेको पनि हुनसक्छ।’

अपहरण गरिएको जहाजलाई सुरुमा भारतको अमृतसर पुर्‍याईएको थियो । भारतीय सुरक्षा निकायले त्यहाँ अपहरणमुक्त गराउन सकेन । जहाज त्यहाँबाट लाहोर, दुबई हुँदै अफगानिस्तानको कन्दहर पुर्‍याइयो।

त्यसक्रममा अपहरणकारीले दुबईमा एक यात्रुलाई चक्कु हानेर हत्या गरेका थिए । तालिवान नियन्त्रित कन्दहरमा विमान राखेर अपहरणकारीले भारत सरकारसँग ‘वार्गेनिङ’ गरेका थिए ।

भारतीय जेलमा रहेका आफ्ना नेता मौलाना मसुद अजरसहित तीन जनालाई छुटाएपछि मात्र उनीहरूले विमानका यात्रुलाई मुक्त गरेका थिए । तिनै मौलानाले हाल जैस–ए– मोहम्मद नामक आतंकवादी समूह चलाइरहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad