ग्रान्डी अस्पतालको लापरबाहीका कारण यतिखेर काठमाडौं लैनचौरका सञ्जीव न्यौपानेको परिवारले निक पीडा भोगिरहेको छ।
चिकित्सकीय लापरबाहीका कारण न्यौपानेको १८ महिने छोरा रिहान न्यौपानेको जीवन जोखिममा परेको छ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको गलत उपचारका कारण उनको यो अवस्था आएको हो भनेर आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले खबर लेखेका छन्।
सामान्य अवस्थामा जन्मिएको शिशुमा अस्पतालजन्य संक्रमण फैलियो। संक्रमण बढ्दै गएपछि शिशुमा मेनिनजाइटिस भयो। संक्रमणकै कारण मस्तिष्कको एक भाग विकास भएन। शिशु सामान्य रहेको भन्दै न्युरो सर्जन डा. अमित थापाले ९ महिनामा बालकको टाउकाको पाँचपटक शल्यक्रिया गरे। डा. दीपिका ढकालले शिशुलाई अवाश्यकभन्दा बढी प्यारासिटामोल खुवाउन सिफारिस गरिन्।
शिशु क्रमशः अपांग मात्रै भएनन्, मृत्यसँग लडिरहेका छन्। उपचारमा लापरबाही भएको उजुरीका आधारमा काउन्सिलले अनुसन्धान गर्यो, तर अस्पताल र सम्बन्धित चिकित्सकलाई सचेत मात्रै गराएर छाड्यो।
अस्पतालले गरेको लापरबाहीबारे नेपाल मेडिकल काउन्सिलले अनुसन्धानपछि कमजोरी भएको पुष्टि गरेको छ। तर उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पताललाई कारबाहीबारे प्रस्टसँग सिफारिस नगर्दा उनीहरूले उन्मुक्ति पाएका छन्।
मस्तिष्क विकास नभएको शिशुलाई नौ महिनाको बीचमा अस्पतालका न्युरो सर्जन डा. अमित थापाले पाँचपटक शल्यक्रिया गरेका थिए। रिहानका बुबा सञ्जीवले गलत उपचारले शिशुको ब्रेन विकास नभएकाको अवस्थामा समेत चिकित्सकले सुधार हुँदै छ भन्दै ढाँटेको आरोप लगाए। उपचारमा भएको लापरबाहीका कारण रिहानको टाउकोसमेत ‘भी’ आकारको बनेको छ ।

प्रतिक्रिया