युवतीलाई बलि चढाउन भारत लैजान लागेको आशंकामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ।
एकजनालाई काठमाडौँ र ६ जनालाई विराटनगरनजिकको सीमा क्षेत्रबाट पक्राउ गरिएको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।
उनीहरुलाई तीनदिनको विशेष अप्रेसनपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। पक्राउ पर्नेमा दुई महिला छन्।
प्रहरीले सबैको नाम गोप्य राखेको छ। ‘युवतीलाई बली चढाउन लैजान खोजेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको छ,’ प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले भने।
स्रोतका अनुसार पक्राउ पर्नेमा उमेश माझी, कृष्ण तामाङ, उमेश साह, दिलीप पोदार, रञ्जित चौधरी थारु, प्रेममाया तामाङ र दिलकुमारी बुढामगर छन्।
प्रहरीका अनुसार बली चढाउन लैजान खोजिएकी २१ वर्षीया युवती मोडल हुन्।
उनको काठमाडौँमा कार्यालय छ। केहीदिनअघि मोडलिङ गर्ने प्रस्तावसहित एक महिला उनको कार्यालयमा आएकी थिइन्।
उनीसँगै केही पुरुष पनि थिए। पहिलो चरणमा मोडलिङ काठमाडौँमा गर्ने भनेका थिए। आकर्षक पारिश्रमिकको प्रस्ताव आएपछि युवती तयार भएकी थिइन्।
मोडलिङको लोकेशन विशेष कारणले काठमाडौँबाट विराटनगर सरेको खबर आएपछि युवती त्यहाँ पुगिन्।
त्यहीबीच उनीहरुले युवतीलाई मासु, मदिरा खाने गरे नगरेको सोधे। युवतीले नखाने बताएपछि महिनावारी भए नभएको सोधे।
उनले अहिले नभएको बताइन्। त्यसपछि उनीहरुले सुटिङको लोकेशन नेपाल भारत सीमा क्षेत्रआसपास हुने बताए। प्रवक्ता
बोगटीका अनुसार सुरुमा युवतीलाई पूजा गर्न भारत लैजान लागेको सूचना आएको थियो।
शंका लागेपछि युवतीले सुटिङको सबै ‘डिस्क्रिप्सन’ मागिन्। उनीहरुले ‘डकुमेन्ट्री सुटिङ’ गर्नुपर्ने र त्यसका लागि तान्त्रिक पूजा गर्नुपर्ने भएकाले मासु, मदिरा, नखाने र महिनावारी नभएकी युवती चाहिएको बताएका थिए।
त्यसपछि ती युवतीले प्रहरीलाई खबर गरेकी थिइन्।
Shares

प्रतिक्रिया