छापा खबर


अब १ महिनाभित्रै नेपालमा रेल आउँदै

अब १ महिनाभित्रै नेपालमा रेल आउँदै

नेपालखबर
पुस ९, २०७६ बुधबार ०:५४,

नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ। तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ।

रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ। रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व्यवस्थापक र साधारण प्राविधिकदेखि विशेषज्ञ इन्जिनियरसम्मको जनशक्ति आवश्यक छ।

अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनका नाममा केही पनि काम अगाडि बढ्न सकेको छैन। जयनगर–जनकपुर खण्डमा चलाउन सरकारले सूर्य–चन्द्र झन्डा अङ्कित रेल खरिद गर्ने निर्णय गरेको थियो।

पहिलो रेल सन् २०२० को जनवरीमा र अर्को रेल भने फेब्रुअरीभित्र आइपुग्ने जानकारी रेल विभागका प्रवक्ता अमन चित्रकारले दिए भनेर आजको गोरखापत्रमा भउचप्रसाद यादवले खबर लेखेका छन्।

नेपाल आउने रेलसेट अहिले भारतको चेन्नईमा निर्माणाधीन अवस्थामा छ। रेल विभागका महानिर्देशकसहितको टोलीले निर्माणाधीन रेलको निरीक्षण गरेको छ।

प्रवक्ता चित्रकार भन्छन्, “दुइटामध्ये एउटा रेल जनवरीभित्र आइपुग्ने निश्चित भएको छ। अर्को रेल फेब्रुअरीभित्र आउँछ तर नेपालको तयारी भने केही पनि छैन। कसले चलाउने, कुन मोडलमा चलाउने, सम्बन्धित प्राविधिक जनशक्ति र कर्मचारी कहाँबाट ल्याउने भने कुरा थाहा छैन। ”

रेल सञ्चालनमा लागि आवश्यक जनशक्ति व्यवस्थापनका कार्यहरू प्रक्रियामा रहेको बताउँदै उनले भने, “नेपालमा सम्बन्धित दक्ष तथा अनुभवी जनशक्तिको अभाव छ। उक्त रेल सञ्चालन गर्न आवश्यक ‘मेनपावर आउट सोर्सिङ’ गरी उपलब्ध गराउनेतर्फ काम भइरहेको छ। ”

पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्म र दोस्रो चरणमा कर्थादेखि बिजुलपुरादेखि रेल सञ्चालनमा ल्याउने छ। ३४ किलोमिटर दूरी रहेको जयनगरदेखि कुर्थासम्म रेल सञ्चालनका लागि आवश्यक लिक निर्माणको काम सम्पन्न भइसकेको छ।

कुर्थादेखि बिजुलपुरासम्मको दूरी १७ किलोमिटर छ। जयनगरदेखि बर्दिबाससम्म ६९ किलोमिटरको दूरीमा रेलसेवा सञ्चालन गर्ने योजना सरकारको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad