छापा खबर


पक्राउ परेका १२२ चिनियाँ संगठित अपराधमा संलग्न रहँदै आएको खुलासा

पक्राउ परेका १२२ चिनियाँ संगठित अपराधमा संलग्न रहँदै आएको खुलासा

नेपालखबर
पुस ९, २०७६ बुधबार ०:५३,

पूर्वी एसियाली देशहरूमा धरपकड सुरु भएपछि इन्टरनेटमार्फत ठगी गर्ने चिनियाँ आपराधिक समूह नेपाल छिरेको खुलेको छ ।

सोमबार काठमाडौंमा पक्राउ परेका एक सय २२ मध्ये धेरैजसो विगतमा फिलिपिन्स, कम्बोडिया, भियतनाम, मलेसियालगायत देशमा बसेर यस्तो किसिमको अपराधमा संलग्न व्यक्तिहरू भएको प्रहरीले जनाएको छ।

चिनियाँ सरकारको आग्रहमा ती देशहरूले धरपकड गर्न थालेपछि सुरक्षित भूमि ठानेर चिनियाँ नागरिक नेपाल आएका थिए । सोही सूचना पाएपछि चिनियाँ अधिकारीले नेपाली अधिकारीहरूसँग छलफल गरेर पक्राउ गराएका हुन् ।

पक्राउ परेकाहरूले हजारौँ चिनियाँलाई ठगी गरेको प्रहरीले जनाएको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

विच्याटलगायत माध्यमबाट उनीहरूले संगठित रूपमा ठगी गरेका छन् । विच्याटमार्फत चिनियाँहरूसँग सम्पर्क गर्ने र विभिन्न प्रलोभनमा पारेर ठगी गर्दै आएका थिए । त्यस्तै, पक्राउ परेकामध्ये कतिपय अनलाइन जुवा खेलाउने धन्दामा थिए । केही चिनियाँ भने डलर र सुन तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

तीन महिना लामो तयारीपछि सोमबार प्रहरीले मनमैजु, बाँसबारी र बूढानीलकण्ठका नौवटा घरमा छापा हानी चिनियाँहरूलाई पक्राउ गरेको थियो । उनीहरूले घर नै भाडामा लिएर गोप्य अनलाइनमार्फत संगठित अपराध गर्दै आएका थिए ।

‘उनीहरूले हजारौँ चिनियाँलाई ठगी गरेको चिनियाँ अधिकारीहरूले बताएका छन्,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘सायद उनीहरूमाथि यससम्बन्धी थप अनुसन्धान हुनेछ ।’

अपरेसनको नेतृत्व गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक डिआइजी निरज शाहीले चिनियाँ नागरिक आपराधिक कामकै लागि घर भाडामा लिएर बसेको बताउँछन् । ‘ठूलो मात्रामा ल्यापटप र मोबाइल बरामद हुनुबाट उनीहरू आपराधिक गतिविधिमा लागेको प्रस्ट हुन्छ,’ उनले भने ।

प्रहरीले अनुसन्धान सकेपछि अध्यागमन विभागले उनीहरूमाथि भिसा दुरुपयोगको अभियोगमा थप कारबाही गर्नेछ । कारबाहीपछि उनीहरूलाई निष्कासन गरिने विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad