छापा खबर


भाजपालाई झारखण्डमा झट्का, मोदीलाई गतिलो पाठ

भाजपालाई झारखण्डमा झट्का, मोदीलाई गतिलो पाठ

नेपालखबर
पुस ८, २०७६ मंगलबार १:३३,

विवादित नागरिकता ऐनविरुद्धको जारी आन्दोलनका कारण दबाबमा रहेको भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले चुनावी मैदानमा पनि नमीठो झट्का व्यहोरेको छ।

झारखण्डमा हालै सम्पन्न विधानसभा चुनावको अन्तिम परिणामले भाजपालाई त्यस्तो झट्का दिएको हो। सोमबार बिहानदेखि सुरु भएको मतगणनाको अन्तिम नतिजाअनुसार विपक्षी झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र भारतीय राष्ट्रिय का‌ंग्रेस गठबन्धनले ४७ सिट जितेका छन् भने सत्तारुढ भाजपा २५ मै सीमित भएको छ। अन्य दलले ९ सिट जितेका छन्।

चुनावी परिणामसँगै झारखण्डमा जेएमएम र का‌ंग्रेसको सरकार बन्ने निश्चित भएको खबर नयाँदिल्लीबाट सुरेशराज न्यौपानेले आजको कान्तिपुरमा लेखेका छन्। ८१ सदस्यीय विधानसभामा बहुमतका लागि ४१ सिट आवश्यक पर्छ। चुनावमा सत्तारुढ भाजपाका प्रमुख हस्तीहरुमध्ये अधिकांशले पराजयको सामना गर्नुपरेको छ।

मुख्यमन्त्री रघुबर दासले समेत चुनाव हारेका छन्। दासले हार स्वीकार गर्दै राज्यपाल द्रौपदी मुर्मूसमक्ष राजीनामासमेत पेस गरिसकेका छन्।

त्यसो त मतगणनाका अघिका प्रायः सबैजसो एग्जिट पोलहरुले विपक्षी गठबन्धनले जित हात पार्ने पूर्वानुमान गरेका थिए। सोमबारको मतगणनाले पनि त्यही देखायो।

पाँच चरणमा सम्पन्न झारखण्डमा चुनावको सोमबार मतगणना गरिएको थियो। जसमा सत्तारुढ भाजपा नेतृत्वको गठबन्धन विपक्षी भारतीय राष्ट्रिय कांग्रेस गठबन्धनसँग पराजित भएको छ।

चुनावमा का‌ंग्रेस, जेएमएम र लालु यादवको राष्ट्रिय जनता दल ९आरजेडी० बीच गठबन्धन थियो। चुनावमा विपक्षी गठबन्धनले हेमन्त सोरनलाई भावी मुख्यमन्त्रीका रूपमा अघि सारेका थिए। ४४ वर्षीय सोरेन पूर्वमुख्यमन्त्री शिवु सोरेनका छोरा हुन्। हेमन्त पनि सन् २०१३ मा एक वर्षका लागि मुख्यमन्त्री थिए। त्यही भएर हेमन्त नै फेरि एक पटक मुख्यमन्त्री बन्ने निश्चित प्रायः ठानिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad