छापा खबर


आखिर कसले चलायो प्रधानमन्त्रीको ट्विटर? प्रहरीले थाल्यो गम्भीर अनुसन्धान

आखिर कसले चलायो प्रधानमन्त्रीको ट्विटर? प्रहरीले थाल्यो गम्भीर अनुसन्धान

नेपालखबर
पुस ६, २०७६ आइतबार ०:२०,

प्रधानमन्त्री केपी ओलीकै ट्विटर अकाउन्ट असुरक्षित भएको खुलेपछि प्रहरीले गम्भीर अनुसन्धान थालेको छ।

प्रधानमन्त्रीको ट्विर अकाउन्ट दुरुपयोगले एकाएक जटिल रूप लिएपछि घटना अनुसन्धानको जिम्मा नेपाल प्रहरीले लिएको हो।

ट्विटर अकाउन्ट दुरुपयोग सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयका कर्मचारीमाथि समेत अनुसन्धान गर्नुपर्ने भएकाले नेपाल प्रहरीलाई जिम्मा लगाइएको हो। घटना सम्बन्धमा नेपाल प्रहरीअन्तर्गतको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ।

प्रधानमन्त्रीका आइटीविज्ञ अली असगरले शनिबार ११ बजे नै घटना सम्बन्धमा अनुसन्धान गर्न सम्पूर्ण टाटा ब्युरोलाई जिम्मा लगाइएको बताए। यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्रीको ट्विटर ह्यान्डल प्रधानमन्त्रीबाहेक सञ्चारविज्ञ रामशरण बजगाईंले प्रयोग गर्छन्। त्यसबाहेक ट्विटरको पासवर्ड प्रमुख सल्लाहकार विष्णु रिमाल र आइटीविज्ञ अली असगरलाई थाहा छ।

नागरिकता विधेयक सम्बन्धमा भारतमा जारी आन्दोलनलाई लक्ष्य गर्दै भारतीय कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले गरेको भाषण प्रधानमन्त्री ओलीको ट्विटर अकाउन्टबाट एकाएक रि-ट्विट भएपछि अकाउन्ट दुरुपयोग भएको खुलेको थियो।

pms screenshot

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबार राति पौने १० बजे प्रधानमन्त्री ओलीको ट्विटर अकाउन्ट दुरुपयोग भएको खुलेको बताए।

उनले भने, ‘प्रधानमन्त्री ओलीको ट्विटर अकाउन्टबाट भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले गरेको भाषण रि–ट्विट भएको देखियो। लगत्तै सचिवालयका साथीहरूसँग सोधें। उहाँहरूमध्ये कसैबाट पनि रि–ट्विट नभएको खुल्यो। रि–ट्विट तत्काल ‘अन डु’ गरियो। घटना संवेदनशील देखियो। तत्काल अनुसन्धान सुरु भयो। अहिले यसमा प्रहरीबाट अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad