छापा खबर


भोक र निन्द्रा हराएको प्रशंग जोड्दै प्रधानमन्त्रीले सम्झिए भतिजो दुर्घटनामा परेको विगत

भोक र निन्द्रा हराएको प्रशंग जोड्दै प्रधानमन्त्रीले सम्झिए भतिजो दुर्घटनामा परेको विगत

नेपालखबर
पुस १, २०७६ मंगलबार १:१८,

‘हिजो म निक्कै तनावमा रहेँ । खाना मन लागेन । न निद्रा नै पर्‍यो । दुर्घटनामा मृत्यु भएकाहरूको तस्बिर दिमाग बारबार आइरहे । समाचार पढेँ । एउटा दुधेबालक टुहुरो भएछ । घटनाले झन् घायल बनायो । यस्ता घटना बारबार किन हुन्छ रु यसलाई रोक्ने उपाय छैन?’

प्रधानमन्त्री केपी ओलीले सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–७ स्वाँरास्थित ६ किलोमा आइतबार भएको बस दुर्घटना स्मरण गरिरहँदा बैठक कक्ष एकाएक भावुक बन्यो।

सार्वजनिक यातायातका साधन दुर्घटनाका दर तीव्र ढंगले बढ्न थालेपछि प्रधानमन्त्री ओलीले कारण बुझ्न बोलाएपछि सोमबार गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसहित सरोकारवाला सबै टोली बालुवाटारस्थित प्रधानमन्त्रीनिवास पुगेका थिए ।

दुर्घटनाका कारण र तथा न्यूनीकरणका उपाय प्रधानमन्त्रीसमक्ष राख्न गृहसचिव प्रेमबहादुर राई तयारी गर्दै थिए । उनलाई प्रधानमन्त्री ओलीले बीचैमा रोक्दै पुनः स्वाँराको दुर्घटना सम्झिए ।

उनले भने, ‘स्वाँरा दुर्घटनामा टुहुरा भएको एउटा बालक रुँदै गरेको समाचारमा देखेँ । यसले साह्रै मन पोल्यो । यस्ता दुर्घटना प्रत्येक दिनजसो भएका छन् । यसैगरी, कति बालक टुहुरा भए होलान् । कति बूढाबूढीले सहारा गुमाए होलान् । यसलाई रोक्न सकिएन भने जति प्रगति गरे पनि केही काम लाग्दैन।’

बैठक अझ भावुक बन्यो । तर, प्रतिक्रिया कसैले जनाएनन् । प्रधामन्त्रीलाई सुनि मात्रै रहेका खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

माहोल सम्हाल्दै प्रधानमन्त्री ओलीले यही क्रममा भतिजो दुर्घटनामा परेको विगत सम्झिए । झापाका उनी मलेखुमा माछा खान हिँडेका रहेछन् । गाडी आफैँले हाँकेका । त्यसवेला मापसे जाँच थिएन । मदिरा सेवनपछि गाडी हाँकेका उनी एकाएक बेसुरा भएछन् । मलेखुमा रोकिनुपर्ने कुरिनटार पुगेछन् ।

सम्हाल्नै गाह्रो भएपछि उनले गाडीलाई सडक छेउको बारमा जोताएछन् । सोही बारका कारण उनी बाँचेछन् ।दुर्घटनाबाट भतिज बाँचेको प्रसंग जोड्दै प्रधानमन्त्री ओलीले सहभागीलाई निर्देशनात्मक शैलीमा भने, ‘सडकका छेउमा अब बार लगाउनुस् । दुर्घटना भए पनि कमसेकम मान्छे त मर्दैन । सडक बनाउने स्वीकृति दिँदा अब डबल लेनको मात्रै होस् ताकि यस्ता बार बनाउन सजिलो बनोस् ।’

बैठकमा प्रधानमन्त्री ओली हवाईजहाज दुर्घटना हुँदा तुरुन्तै अध्ययन समिति गठन हुने, तर सार्वजनिक सवारीसाधन दुर्घटना समिति गठन नहुने परिपाटीतर्फ प्रवेश गरे ।

उनले भने, ‘जहाज दुर्घटना हुन्छ । तुरुन्तै अध्ययन हुन्छ । कारण पत्ता लाग्छ । भविष्यमा यस्ता दुर्घटना हुन नदिन सचेतना अपनाइन्छ । तर, हामीकहाँ सार्वजनिक बस दुर्घटना हुँदा अध्ययन गर्ने परिपाटी नै छैन । यो गलत हो । यसअघि भएका र अब हुने सबै दुर्घटनामाथि तुरुन्तै अध्ययन गर्नुहोस् । यसका कारण खोज्नुहोस् । र, तुरुन्तै न्यूनीकरणका उपाय कार्यान्वयन गर्नुहोस् ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad