छापा खबर


छात्रा महिनावारी हुँदा सधैँ चौरमा पढाई, शिक्षिका पनि छिर्दैनन् कक्षामा

छात्रा महिनावारी हुँदा सधैँ चौरमा पढाई, शिक्षिका पनि छिर्दैनन् कक्षामा

नेपालखबर
पुस १, २०७६ मंगलबार ०:५२,

जुम्लाको तातोपानी गाउँपालिका–८ बारागाउँकी १८ वर्षीया मुगा रावत गाउँकै जनजागृति आधारभूत विद्यालयमा सात कक्षामा पढ्छिन् । महिनावारी हुँदा विद्यालयको आँगनबाट अगाडि बढ्न उनलाई आँट आउँदैन।

‘कक्षाभित्र कसरी जानू? देउता रिसाउँछन् रे, देउता रिसाए विद्या नै हराउँछ रे,’ मुगाले भनिन्, ‘पाँच दिन कटेपछि मात्रै कक्षामा छिर्ने हो ।’ मुगाका साथीहरू हाँसकुरा रावत, अनिशा रावत र अञ्जली रावतले बुझेको पनि यत्ति नै हो । महिनावारी हुँदा सकेसम्म विद्यालय नै नआउने र आए पनि कक्षाभित्र नजाने उनीहरूले बताए।

महिनावारी भएकी छात्रा विद्यालय आए सो कक्षाका सबै विद्यार्थीलाई विद्यालयको मूलढोकानजिक आँगनमा राखेर पढाइन्छ । ‘कतिपटक त बाहिर बसेर पढिरहेका वेला पानी परेपछि बीचैमा घर जानुपरेको छ,’ हाँसकुराले भनिन्, ‘पालैपालो कोही न कोही महिनावारी होइन्छ, कक्षाभित्र पढ्ने त कहिलेकाहीँ मात्रै हो ।’

छात्रा मात्रै होइन, शिक्षिका पनि महिनावारी हुँदा कक्षाभित्र जाँदैनन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा जुम्लाबाट मानदत्त रावलले लेखेका छन्।

समाजका अगुवा दाबी गर्नेहरूले नै विद्यालयका कोठाभित्र विगतमा देवीदेवताका मन्दिर रहेको र महिनावारी हुँदा भित्र गए देवता रिसाउने र बिरामीसमेत पारिदिने त्रास फैलाएका छन् ।

‘महिनावारी हुँदा छात्रा र शिक्षिका कक्षामा छिर्नुहुँदैन, गयो भने बिरामी पर्छन्,’ स्थानीय झाँक्रीसमेत रहेका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष शेरबहादुर रावतले दाबी गरे ।

अगुवाहरूले विद्यालयमा महिनावारी बार्नुपर्ने बाध्यता अन्त्य गर्नेभन्दा विद्यालय नै अन्यत्र सार्नुपर्ने बताउँदै आएका छन् । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरीले भने अन्धविश्वास मानेर पढाइमा बाधा पुर्‍याउनु गलत भएको बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad