छापा खबर


चार स्वर्ण विजेता गौरिका भन्छिन् : मलाई नेपाली होइन भन्दा साह्रै नरमाइलो लाग्छ

चार स्वर्ण विजेता गौरिका भन्छिन् : मलाई नेपाली होइन भन्दा साह्रै नरमाइलो लाग्छ

नेपालखबर
मंसिर २९, २०७६ आइतबार १:१०,

बेलायतमा बस्ने छोरी गरिमा र ज्वाइँ पारस भेट्न ससुरा लोकभक्त राणा र सासू कविता राणा बेलाबेला उता गइराख्थे। चिसो बिहान पनि सबेरै कलिली नातिनी गौरिकालाई उठाएर स्विमिङ खेल्न छोरीले लैजाँदा हजुरआमाको मन साह्रै कुँडिन्थ्यो।

स्विमिङ पुलको पानी र क्लोरिनले गर्दा गौरिकालाई एक्जिमा भयो। शरीरका छालामा कडा फोकाजस्ता देखिन थाल्यो। नातिनीको अवस्था देखेर हजुरआमा कविताले एक रात भनिन्, ‘तिमीलाई स्विमिङ खेल्न मन छैन भने मलाई भन। म तिम्रो बुबाआमालाई सम्झाउँछु। यसरी आफैंलाई गाह्रो हुने काम नगर।’

तर नातिनी गौरिकाले स्विमिङ खेल्न मन लाग्ने र परिवारको करले मात्रै नभएर आफैं यसमा लागेको बताएपछि हजुरआमाका आँखा रसाए। त्यतिबेला नातिनीको मायाले रसाएको कविताको आँखा यस पटक भने दक्षिण एसियाली खेलकुद सागको एकै संस्करणमा ४ स्वर्ण जित्ने कीर्तिमान आफ्नै आँखाअगाडि बनेपछि झन् बढी रसाए।

सागको १३औं संस्करण नेपामला आयोजना हुने भएपछि गौरिका थप हौसिइन्। अघिल्लो संस्करणमा रजत पदकमा अड्किएको स्वर्णिम सपनालाई आफ्नै घरमा हुने प्रतियोगितामा पूरा गर्न उनी चाहिन्थिन्। तर नेपालमै केही यस्ता व्यक्ति पनि थिए, जो गौरिकाले प्रतियोगितामा भाग लिएकामा भन्दा नलिएकामा खुसी हुन्थे। आफ्नै देशका लागि स्वर्ण जित्ने गौरिकाको सपनाको अघि कसैको केही चलेन। अन्ततः उनले प्रतियोगितामा भाग लिइन्, कीर्तिमानको ओइरै लगाइन्।

पहिलो स्वर्णभन्दा पनि दोस्रो आफ्ना लागि बढी यादगार भएको उनको अनुभव छ। दोस्रोमा कम्पिटिसन पनि ज्यादा भएकाले त्यो क्षण भुल्न नभुल्ने उनले बताइन्। तेस्रो र चौथो जित्दा भने आफ्नो राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने भावनाले प्रेरणा दिएको उनले सुनाइन्। यो खबर आज आइतबारको नेपाल साप्ताहिकमा छापिएको छ।

‘म विदेशमा बस्छु भन्दैमा नेपालको होइन भन्छन्। त्यो सुन्दा साह्रै नरमाइलो लाग्छ। मेरा बाआमा र मेरो पनि नेपालकै पासपोर्ट हो। म पनि नेपाली नै हुँ। मैले जितेका पदक पनि नेपाल र नेपालीकै लागि हो,’ भावुक मुद्रामा उनी प्रस्तुत भइन्।

याे पनि : चौथो स्वर्ण जित्दै गौरिकाले दीपक विष्टको कीर्तिमानसँग गरिन् बराबरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad