सातदोबाटोस्थित पौडी पोखरीमा सोमबार भएको १०० मिटर महिला फ्रिस्टाइलमा गौरिकाले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण जितेकी हुन्। गौरिकाले ५८.१३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण हात पारिन्।
गौरिकाले भारतीय पौडीबाज सिभागीं शर्मालाई २ मिलिसेकेन्डले पराजित गरिन। शर्माले ५८.१५ सकेन्ड टाइमिङ निकाल्दै रजत जितिन।
यो गौरिकाको जारी सागमा चौथो स्वर्ण पदक हो। गौरिकाले यसअघि ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन। यसै संस्करणमा गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाइ १ सय मिटर फ्रीस्टाइल रिलेमा समेत कास्य जितेकी छिन् ।
यो स्वर्णसँगै गौरिकाले यसअघि सागमा ४ स्वर्ण जित्ने एकमात्रै नेपाली खेलाडी तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग पनि बराबरी गरेकी छिन। दीपकले आठौं, नवौं, दशौं र एघारौं गरि सागका चार संस्करणमा लगातार चार स्वर्ण जितेका थिए।
गौरिका भने एकै संस्करणमा चार स्वर्ण जित्ने एक्ली नेपाली खेलाडी हुन्। गौरिकाको स्वर्णसँगै जारी सागमा नेपालले जितेको स्वर्ण संख्या ४९ पुगेको छ।
Shares

प्रतिक्रिया