छापा खबर


जब शंकास्पद झोलालाई इन्स्पेक्टरले नै ख्याल-ख्याल ठाने‍‍...

जब शंकास्पद झोलालाई इन्स्पेक्टरले नै ख्याल-ख्याल ठाने‍‍...

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ०:५५,

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा शंकास्पद वस्तुलाई ख्यालख्याल ठान्दा विस्फोट भएर प्रहरी इन्स्पेक्टरसहित तीनजनाको ज्यान गएको छ।

स्थानीय राजेश्वर साहको घरको गेटमा रातो झोलाभित्र हालेर झुन्ड्याएको बम प्रहरीकै असावधानीका कारण विस्फोट भएको हो।

शुक्रबार राति ११ बजेतिर साह परिवारका सबै सदस्य सुत्ने तरखरमा थिए । राजेश्वरकी श्रीमती शौचका लागि बाहिर निस्किँदा गेटमा रातो झोला झुन्डिएको देखिन् । शंकास्पद लागेपछि परिवारका सबै सदस्यलाई भनिन् ।

साह परिवार घरबाट निस्केर पाँच सय मिटर पर आफ्नै मेडिकल सेन्टरमा पुगे । राजेश्वरले मेडिकलछेवैको इलाका प्रहरी कार्यालयमा गएर प्रहरीलाई जानकारी गराए ।

इन्स्पेक्टर अमिरकुमार दाहालसहितको टोली केहीबेरमै घटनास्थल पुग्यो । इन्स्पेक्टर दाहालले सुरुमा रातो झोला टाढैबाट नियाले । बम डिस्पोजल टोली बोलाउनुपर्ने इन्स्पेक्टर केहीबेरमै शंकास्पद वस्तुलाई नजरअन्दाज गर्दै झोला छुन पुगे । उनले चलाउनेबित्तिकै विस्फोट भयो ।

विस्फोटमा इन्स्पेक्टर दाहालसहित घरधनी साह र उनका १६ वर्षीय छोरा आनन्दको मृत्यु भएको छ । दाहालको उपचारका क्रममा मृत्यु भएको थियो ।

‘बम–सम होइन भन्दै इन्स्पेक्टर सा’ब आफैँ नजिक गएर झोला के चलाएका थिए, ठूलो अवाजसहित विस्फोट भयो,’ घाइते भिखारी साहले भने, ‘उहाँको ओभर कन्फिडेन्स थियो । बम छैन भनेपछि अगाडि बढ्दा परिवार नै सखाप भयो।’ यो खबर आजको नयाँ पत्रिका दैनिकमा जनकपुरबाट हदिश खुदारले लेखेका छन्।

साह परिवारका छिमेकी मनोज साहले प्रहरीले सावधानी नअपनाउँदा दुर्घटना भएको बताए । ‘प्रहरीले होस पु¥याएको भए यति ठूलो मानवीय क्षति हुने थिएन,’ उनले भने, ‘नजिकै सेनाको क्याम्प थियो, उनीहरूलाई बोलाउनेतिर प्रहरीले ध्यानै दिएन ।’

राति पानी परिरहेको थियो । महेन्द्रनगर क्षेत्रमा बिजुली पनि थिएन । त्यसैले प्रहरी आउँदासम्म घटनास्थलमा कोही गाउँले आएका थिएनन् । बम विस्फोट भएपछि मात्रै अरूले थाहा पाएका थिए । ‘शक्तिशाली आवाजसहित विस्फोट भएपछि मात्रै हामी आएका हौँ, हामी आउँदा त क्षति भइसकेको रहेछ,’ मनोजले भने।

धनुषा प्रहरीका डिएसपी रामेश्वर कार्की भने घटनास्थलमा जम्मा भएको भिड हटाउने क्रममा विस्फोट भएको बताउँछन् । प्रहरीले सतर्कता अपनाएको उनको दाबी छ । ‘प्रहरीले पूर्ण सावधानी अपनाएको हो, बम हेर्न जम्मा भएको भिड हटाउन लाग्दा विस्फोट भयो,’ उनले भने।

घटनामा ज्यान गुमाएका इन्स्पेक्टर दाहाल मादी नगरपालिका–२ संखुवासभाका हुन् । १ कात्तिक ०५५ मा असइबाट सेवा सुरु गरेका उनी असोज ०६० मा सइ हुँदै ०७५ मा इन्स्पेक्टर भएका थिए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको पिएसओसमेत रहेका उनी एक वर्षदेखि धनुषामा कार्यरत थिए।

तीनजना पक्राउ
राजेश्वरको घरमा बम राखेको आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंसपुर नगरपालिका–२ की ललितादेवी महरा र सीतादेवी महरा छन् । अर्का एकको नाम सार्वजनिक भएको छैन । पक्राउ पर्नेहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध रहेको प्रहरी स्रोतले जनायो।

स्रोतका अनुसार राजेश्वर ऋण दिने कारोबार गर्थे । विप्लव समूहका केही कार्यकर्तालाई समेत ऋण दिएको, तर फिर्ता नगरेपछि ताकेता गरेका उनलाई तर्साउन घरमा बम झुन्ड्याएको हुन सक्ने स्थानीय व्यापारी बताउँछन्।

बम विस्फोटको बृहत् अनुसन्धानका लागि इन्स्पेक्टर उमाशंकर साहको नेतृत्वमा सात सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad