ad ad

छापा खबर


जागिरबाट निकालिएपछि आत्महत्या

जागिरबाट निकालिएपछि आत्महत्या

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार २३:४०,

गोलबजार– ९ स्थित मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्षले रोजगारीबाट हटाएको सूचना जारी गरेको केही घण्टामै एक महिला श्रमिकले आत्महत्या गरेकी छन्।

गोविन्दपुरकी अनितादेवी पासवान मंगलबार बिहान उद्योग नजिकै झुन्डिएको अवस्थामा फेला परेकी हुन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

१५ वर्षदेखि स्थायी श्रमिकका रुपमा कार्यरत उनले आत्महत्या गरेपछि मजदूरहरुले प्रदर्शन गरेका छन्। पासवानलाई अपमान जनक ढंगले कामबाट निकालेर आत्महत्या गर्न बाध्य पारेको भन्दै आफन्त, मजदूरले क्षतिपूर्तिको माग गर्दै उद्योग घेराउ गर्नुका साथै पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरे। प्रहरीले दुई घण्टापछि राजमार्ग खुलाएको थियो।

उद्योग व्यवस्थापनले सोमबार अवकास दिएको सूचना टाँसेको थियो। नियमित कामका लागि मंगलबार बिहान ७ बजे उद्योग पुगेकी पासवान अवकासको सूचना पाएपछि त्यहाँबाट फर्किएकी थिइन्।

उनी उद्योग नजिकैं रुखमा ११ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको उद्योगका प्रशासकीय अधिकृत एवं सुरक्षा संयोजक मोहन शर्माले जानकारी दिए। पासवान दैनिक बिहान ८ देखि ४ बजेसम्म उद्योगमा काम गर्थिन्।

मजदूरहरुले सेवा सुविधाको विषयलाई लिएर माग गरी केही दिनदेखि उद्योगमा अवरोध गर्दै आएका थिए। अवरोधमा संलग्न अनितालाई उद्योग प्रशासनले मंसिर ६ र १३ गते दुई पटक स्पष्टीकरण सोधेको थियो।

प्रशासकीय अधिकृत शर्माका अनुसार स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै सोमबार उनलाई सेवाबाट अवकाश दिएको थियो। उनी उद्योगको अखिल नेपाल औद्योगिक मञ्चकी सदस्य थिइन्।

सबै मजदुर काममा गएका बेला अनितालाई अपमानजनक ढंगले महिला प्रहरी लगाएर उद्योगबाट निकालेकाले हतोत्साहित भएर आत्महत्या गर्न पुगेको दाबी मजदुरहरुको छ। मजदुरहरुले उद्योग व्यवस्थापनसँग उचित क्षतिपूर्तिको माग गरेका छन।

उद्योग व्यवस्थापनले अनितासँगै मधेसी कारखाना मजदुर मञ्चका अध्यक्ष समेत रहेका विनोदकुमार महतो, सभ्यकुमार यादव, मोहनकुमार यादव र मिथिलेशकुमार यादवलाई पनि एक महिनाका लागि निलम्बन गरेको उनीहरुले जानकारी दिए।

उद्योगका मजदूरहरुले चिया, मिठा (सख्खर) वापत प्रत्येक दिन ५० रुपैयाँका दरले पाउँदै आएको सुविधा व्यवस्थापनले पछिल्लो कात्तिकबाट दिन छोडेको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .