नेपाली सेनाले कात्तिक ०७७ असारमा राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग निर्माण सुरु गर्ने भएको छ।
त्यस अवधिसम्म कूल ७२ दशमलव ५ मिटर लम्बाइको यस आयोजनाको पूर्वतयारीका काम सम्पन्न हुने सेनाको विश्वास छ। सेनाले त्यसका लागि ६ वटा परामर्शदाता कम्पनी छनोट गरिसकेको खबर आजको नयाँ पत्रिकामा जीवन बस्नेतले लेखेका छन्।
आगामी असारसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्माण कम्पनी छनोट तथा सार्वजनिक खरिद प्रक्रिया पूरा गरिने आयोजना प्रमुख सहायक रथी शरदलाल श्रेष्ठले जानकारी दिए। सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले १२ स्थानमा एकैसाथ काम गरेपछि २०८१ भित्र आयोजना सम्पन्न हुने बताए।
‘न्यूनतम ३ देखि साढे ३ वर्षभित्र आयोजना सम्पन्न गर्ने कार्ययोजना छ,’ आयोजना प्रमुख श्रेष्ठले भने । यो लक्ष्य हासिल गर्न अत्यावश्यक निर्माण सामग्रीको अभाव हुन नहुने सेनाको भनाइ छ ।
पहाडमा २५ र समथर भूभागमा २७ मिटर चौडाइ
आयोजना प्रमुख श्रेष्ठका अनुसार पहाडमा २५ मिटर र समथर भूभागमा २७ मिटर चौडाइ रहने गरी सेनाले फास्ट ट्र्याक बनाउँदै छ । यसअघि पहाडी भूभाग र समथर ठाउँमा सडकको चौडाइ एउटै राख्ने वा फरक गर्ने स्पष्ट थिएन । आयोजनाको प्रवेश बिन्दु काठमाडौंको खोकना र अन्तिम बिन्दु निजगढ रहने यसअघि नै तय भइसकेको छ ।
सडकको न्यूनतम चौडाइ ४ लेनको हुनेछ । आयोजनामा कुल ८७ वटा पुल रहनेछन् । त्यसमध्ये १६ वटा विशेष खालका र ७१ वटा सामान्य खालका हुनेछन् । । विशेष पुल निर्माण अन्तर्राष्ट्रिय परामर्शदाताको निगरानीमा अन्तर्राष्ट्रिय निर्माण कम्पनीले तयार गर्नेछन् । सबै ठाउँ गरी पुलको मात्र लम्बाइ १० दशमलव ५९६ किलोमिटर रहनेछ । त्यस्तै, कुल लम्बाइ ६ दशमलव ४१५ किलोमिटर रहने गरी तीनवटा सुरुङ पनि बन्नेछन् । पुल र सुरुङबाहेक बाँकी सडक मार्ग हुनेछ ।
५ महिनामा ६ करोड मात्र खर्च
चालू आर्थिक वर्षका लागि फास्ट ट्र्याकलाई सरकारले १५ अर्ब ७० लाख रुपैयाँ विनियोजन गरेको छ। तर, सेनाले मंसिरसम्ममा ६ करोड रुपैयाँ मात्र खर्च भएको जानकारी दिएको छ । गत वर्षहरूको जस्तै चालू आर्थिक वर्षमा पनि विनियोजित बजेट खर्च नहुने सम्भावना उच्च छ। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने निर्माण कम्पनी छनोट हुनेबित्तिकै खर्च वृद्धि हुने बताए। ‘अहिले प्रक्रियागत काम भइरहेका कारण पनि वित्तीय प्रगति न्यून रहेको छ,’ उनले भने, ‘काम सुरु भएपछि खर्च वृद्धि हुन्छ ।’

प्रतिक्रिया