छापा खबर


धरहराका इँटा होटल र रेस्टुरेन्टमा प्रयोग

धरहराका इँटा होटल र रेस्टुरेन्टमा प्रयोग

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार २:१३,

चारखाल मालपोत कार्यालयछेउ इचिबान नामको रेस्टुरेन्ट छ । यसलाई नेपाली वास्तुकला झल्कने मयूर झ्याल, आँखी झ्याल आदिले सजाइएको छ।

भित्र पस्दा रिसेप्सनको ठीक पछाडि भित्तामा नौवटा हार लगाएर इँटा टाँसिएका छन् । टाँसिएका इँटाको छेउछेउमा फ्रेम हालेर आकर्षक देखाइएको छ।

प्रत्येक इँटामा ‘श्री ३ चन्द्र’ लेखिएको छ । हलको बीचतिर पनि यस्तै इँटाले सजाइएको छ । प्राचीन स्मारक संरक्षण ऐन–२०१३ का अनुसार पुरातात्त्विक सम्पदामा प्रयोग गरिएका कुनै पनि वस्तु व्यक्तिका घरमा राख्नु वा व्यावसायिक प्रयोजनमा लगाउनु गैरकानुनी हो।

‘पुरातात्त्विक महत्त्वका सामान व्यक्तिको घरमा राख्न पाइँदैन,’ पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने ।

पुरातात्त्विक महत्त्वका यस्तै इँटा बबरमहलको बसेरा बुटिक होटलमा पनि राखिएको तस्बिर पत्रकार कसिसदास श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

श्रेष्ठले श्री ३ चन्द्र लेखेको धरहराको इँटा निजी होटलमा प्रयोग भएको फोटो ट्वीटरमा पोस्ट गरेका थिए ।

‘मैले धरहराको इँटा भेटें,’ श्रेष्ठले भने, ‘होटलमा सोधपुछ गरेर कन्फर्म भएपछि सार्वजनिक गरेको हुँ ।’ उक्त होटलमा ६० वटा कोठा छन् । प्रत्येक कोठामा यस्ता एक–एकवटा इँटा फ्रेमभित्र राखिएको श्रेष्ठले बताए ।

केही महिनाअघि मात्र सञ्चालनमा आएकोयो होटल नेपाली वास्तुकला झल्कने गरीबनाइएको छ । बसेरा होटलकी व्यापार संयोजक हेलेन घिमिरेले भने धरहराको इँटा प्रयोग नगरेको दाबी गरिन्, तर ती पुरातात्त्विक महत्त्वका इँटा कहाँबाट आए भन्ने प्रश्नको स्पष्ट जवाफ उनले दिन सकिनन् या चाहिनन् ।

इचुबानका सञ्चालकले पनि यस्तै जवाफ दिएका खबर आजको कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले लेखेका छन्।

‘हामीले किन्दा यहाँ यसैगरी इँटा सजाइएको थियो,’ इचुबानका सञ्चालक कुमार कट्टेलले भने, ‘हामीले सञ्चालन गरेको एक वर्षमात्रै भयो ।’

पुरातात्त्विक महत्त्वका सामग्रीको कसरी दुरुपयोग भइरहेको छ भन्ने उदाहरण हुन् यी दुई ठाउँमा प्रयोग भएका इँटा । संरक्षणविद् रवीन्द्र पुरीका भनाइमा कतै बुझेर र कतै नबुझेर पुरातात्त्विक महत्त्वका वस्तुहरूको दुरुपयोग भइरहेको छ।

प्राचीन स्मारक संरक्षण ऐनले पुरातात्त्विक महत्त्वका वस्तुको स्थानान्तरणमा पनि बन्देज लगाएको छ । ‘स्थानान्तरण गर्न पाइँदैन भनेर ऐनले किटान गरेको छ,’ संरक्षणविद् पुरीले भने, ‘यस्ता सामान ओसारपसारसमेत गर्न पाइँदैन । किनबेचको त कुरै छाडौं।’

२०७२ सालको भुइँचालो जानासाथ धरहराका इँटा भन्दै टिपेर लैजाने होडबाजी नै चलेको उनले बताए । पुरीलगायत संरक्षणविद्हरूले आवाज उठाएपछि सुन्धाराबाट उठाएर धरहराका इँटा टुँडिखेलमा राखिएको थियो ।

‘हामीले सुरुमै सचेत गराएका थियौं,’ पुरीले भने, ‘हामी कराएपछि टुँडिखेलमा लगेर राखियो, तर त्यहाँ पनि सुरक्षित भएजस्तो लागेन ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad