ad ad

छापा खबर


ओली यसरी चलाउँदैछन् अस्पतालबाटै सरकार र दल

ओली यसरी चलाउँदैछन् अस्पतालबाटै सरकार र दल

नेपालखबर
मंसिर १८, २०७६ बुधबार २:५४,

उपप्रधानमन्त्री उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्याबाट कानुन मन्त्रालयमा सरुवा हुँदा भारत थिए । सरुवाको पर्सिपल्ट अर्थात् गत मंसिर ६ गते फर्किएका यादव ९ गतेबाट मात्रै नयाँ मन्त्रालय गए ।

त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत चौमासिक समीक्षा बैठक राखेका थिए । नयाँ मन्त्रालयबारे आफूलाई केही थाहा नभएको बताउँदै यादव बैठकमा उपस्थित भएनन् । ९ गते राति प्रधानमन्त्री ओली बिरामी परे । उनी १० गतेदेखि अस्पतालमा छन् ।

यता यादवले कतिपय जरुरी विषयमा प्रधानमन्त्रीसँग सरसल्लाह गर्न नपाएको बताएका छन् । ‘म यो मन्त्रालयमा आएपछि प्रधानमन्त्रीज्यूसँग एकपटक पनि भेट हुन पाएन, समन्वय गर्नुपर्ने कुरा थिए, धेरै विषयमा सरसल्लाह गर्नुपर्ने छ,’ मन्त्री यादवले भने, ‘तर बिरामी मान्छेलाई दुःख दिनु भएन।’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङले पनि प्रधानमन्त्रीसँग यथेष्ट सरसल्लाह गर्न पाएका छैनन् ।

प्रधानमन्त्री बिरामी भएकै कारण सरकारले गर्नैपर्ने काम भने नरोकिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।

‘सरकारको काम चलिरहेको छ, प्रधानमन्त्रीज्यूले हस्ताक्षर नै गर्नुपर्ने काम तत्काल केही छैनन्,’ उनले भने, ‘आवश्यक विषयमा सचिवालय र सल्लाहकारमार्फत समन्वय भइरहेको छ ।’

उनले मन्त्रीहरूको तहमा गर्नुपर्ने संयोजन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रशासनिक तहमा गर्नुपर्ने समन्वय मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत भइरहेको जानकारी दिए । यो खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् । पछिल्लो पटक पोखरेलले दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोहलाई सम्बोधन गरे ।

निर्धारित कार्यतालिकामा प्रधानमन्त्रीले सागलाई सम्बोधन गर्ने उल्लेख थियो । प्रधानमन्त्री ओलीले भने अस्पतालको आईसीयूबाटै समारोहको उद्घाटन हेरेका थिए । प्रधानमन्त्रीको सचिवालयले सरकारको काम रोकिने स्थिति नआएको दाबी गरेको छ ।

‘मानवीय संवेदनाका कुरा पनि आउलान्, उहाँ अहिले बिरामी हुनुहुन्छ,’ रिमालले भने, ‘एक साताभित्र कुनै पनि दिन उहाँ डिस्चार्ज हुनुहुन्छ, काम निरन्तर भइहाल्छ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .