ad ad

छापा खबर


आर्थिक अभावमा अस्पतालमै गर्भवतीको मृत्यु

आर्थिक अभावमा अस्पतालमै गर्भवतीको मृत्यु

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार ०:४६,

उपचारका लागि पैसा नहुँदा उदयपुरको उदयपुरगढी गाउँपालिका– ८ की गर्भवती महिलाको ज्यान गएको छ।

आइतवार बिहान प्रसूति बेथा लागेर जिल्ला अस्पताल गाईघाट ल्याइएकी २४ वर्षीया सरिष्मा आचार्यको उपचारका लागि रकम अभावमा मृत्यु भएको खबर आजको राजधानी दैनिकमा ईश्वर तामाङले उदयपुरबाट लेखेका छन्।

उनलाई श्रीमान प्रेम बुढाथोकीले अस्पताल ल्याएका थिए । चिकित्सकले प्रारम्भिक उपचारपछि तत्काल बाहिर लैजान सुझाव दिए । तर उनीसँग अन्यत्र लैजान पर्याप्त रकम थिएन । जिल्ला अस्पताल गाईघाट ल्याउन पनि उनले घरबेटीसँग एक हजार रुपैयाँ मागेका रहेछन्।

गर्भवतीको शरीरमा रगतको मात्रा कम भएको र जतिसक्दो चाँडो रगत चढाउनु पर्ने भन्दै सुविधा सम्पन्न अस्पतालमा लैजान जिल्ला अस्पताल गाईघाटका प्रसूति चिकित्सक अमरेशकुमार मेहत्ताले रेफर गरेका थिए।

तर श्रीमान प्रेमले रकम अभावमा अन्य अस्पताल लैजान सकेनन् । फलस्वरुप रेफर गरेको केही घण्टामा नै अस्पतालमै गर्भवतीको ज्यान गयो । त्यसपछि श्रीमान प्रेम आफन्त बोलाउन जाने बहानामा अस्पतालबाट बाहिरिए र पुनः फर्केर आएनन्।

गर्भवतीको शरीरमा रगतको कमि भएकाले रक्त अल्पता भएको र फोक्सोमा पानी जमेकाले नाक, मुखबाट रगत बगेर मृत्यु भएको जिल्ला अस्पताल गाईघाटका प्रसूति चिकित्सक मेहत्ताले बताए।

‘अस्पताल ल्याउँदै गर्दा नै महिला धेरै कमजोर देखिन्थिन्, जचाउँदा रगत ७.९ मात्र देखिएपछि तत्काल बाहिर लान सुझायौं,’ डा.मेहत्ताले भने, ‘तर आर्थिक अभावका कारण उपचारमा खासै चासो देखाएको पाएनौं । बरु श्रीमतीको मृत्यु भएपछि श्रीमान नै बेपत्ता भए।’

गाईघाट अस्पतालका प्रशासक तथा सूचना अधिकारी बृखबहादुर खत्रीले बाहिर लैजान पैसा नहुँदा गर्भवतीको ज्यान गएको बताए।

खोटाङ र उदयपुरमा विभिन्न मितिमा गरेको गर्भवती चेकजाँच पुर्जामा रक्त अल्पता देखाएको छ । खत्रीले भने, ‘सायद आर्थिक अभावले पनि गर्भवती महिलाले पोषिलो खानेकुरा खान नपाएको देखिन्छ । यस्तै आइरन, क्याल्सियम जस्ता औषधि सेवन नगरेको देखिन्छ।’

खत्री दम्पती त्रियुगा नगरपालिका– १२ डिएमगेटमा डेरा गरी बस्दै आएका थिए ।

गर्भवतीको यस अघि ३ ठाउँमा गर्भ जाँच गरिएकोमा सबैमा रक्त अल्पता देखिएको पुर्जीमा उल्लेख छ । गत ५ असारमा खोटाङको बुइपा स्वास्थ्य चौकीमा जचाइएको पुर्जीमा ‘सरिस्मा आचार्य’ नाम र रगत ७.४ उल्लेख छ भने २ साउनमा दिक्तेल अस्पतालमा जचाउँदा ‘सरिस्मा बुढाथोकी’, रगत ७.३ उल्लेख छ।

५ असोजमा गाईघाट सिभिल अस्पतालमा जचाएको पुर्जीमा रगतको अवस्था ७.५ उल्लेख छ भने आइतबार उदयपुर अस्पतालमा रगतको अवस्था ७.९ रहेको छ । सिभिल अस्पतालमा उनको ठेगाना उदयपुरगढी गाँउपालिका– ८ उल्लेख थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .