ad ad

छापा खबर


एकै दिन दुई स्वर्ण जितेपछि भक्कानिइन् आयशा

 एकै दिन दुई स्वर्ण जितेपछि भक्कानिइन् आयशा

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार ०:५९,

१२औँ सागमा रजतमै सीमित भएकी आयशाले फेरि तेक्वान्दोमा स्वर्ण जितेर तहल्का मच्चाउँछिन् भन्ने कमैले सोचेका थिए। उनी आफैँलाई खेलमा फर्कन्छु भन्नेसम्म पनि लागेको थिएन।

उमेर ढल्कँदै थियो, दुई सन्तानकी आमा बनेपछि पारिवारिक जिम्मेवारी बढेको थियो । तर, २००६ को कोलम्बो सागमा रजत र २०१० को ढाका सागमा स्वर्ण जितिसकेकी आयशाले यसपटक दोहोरो स्वर्ण जितेर इतिहास रचिन्।

यसपटक उनले पुम्सेको महिला टिम इभेन्ट्स र एकल स्पर्धामा स्वर्ण जितेकी हुन् । सागमा एकै संस्करणमा दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला हुन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा श्रीलोचन राजोपाध्याय र प्रकाश कँडेलले लेखेका छन्।

त्यस्तै, सागमा महिलातर्फ सर्वाधिक दुई स्वर्ण जित्ने संगीना वैद्यको कीर्तिमान भंग गर्दै उनले आफ्नो स्वर्ण संख्या ३ पुर्याइन्। ‘१२ औं सागपछि यसरी शशक्त पुनरागमन गर्छु भन्ने कल्पना थिएन,’ सोमबार दोहोरो स्वर्ण जितेपछि आयशाले भनिन्, ‘धेरैले सुझाव दिन्थ्यें । खेल्न छाडेर बच्चा हुर्काउन लाग । तर दीपकले सधैं हौस्याँइरहे।’

उनका श्रीमान् दीपक विष्ट सागका किर्तिमानी खेलाडी हुन्, जसले लगातार चार संस्करणमा चार स्वर्ण जितेका छन् । विष्ट अहिले प्रशिक्षक छन् । आयशाका अनुसार दीपकले नै तेक्वान्दोमा ‘गेरुगी’ छाडेर ‘पुम्से’ विधा रोज्न लगाएका हुन्।

‘यो मेरो एक्लो उपलब्धी होइन । मेरो सर्वाधिक ठूलो सफलताको सारथी नै दीपक हुन्,’ दोहोरो स्वर्ण जितेपछि यति भन्दै उनी रुन थालिन् । दुई छोरा आदिश र आधारलाई डोहोर्याउँदै दीपक आयशालाई बधाई दिन आए, त्यसपछि दीपकको अंगालोमा बाँधिएपनि आयशाको आँशु रोकिएन।

‘मजस्ता धेरै आमाहरूलाई यसले सफलताका लागि हौसला र आँट मिलोस् । यो मेरो जीवनकै अद्भूत भोगाई हो,’ आँशु पुछ्दै उनले भनिन्,‘ रातदिन मेहिनत गरेको थिएँ । सपना पुरा हुँदा मलाई कहाँबाट कहाँ पुगेजस्तो महसुस भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .