छापा खबर


प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन दुई महिला नातेदारको परीक्षण

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन दुई महिला नातेदारको परीक्षण

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार २:२७,

प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ।

नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो।

त्यस क्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एकजना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

स्रोतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी छन् भने घरतर्फबाट नाता पर्ने झापाकी युवती ३५ वर्षमुनिकी हुन् ।

उनीहरूको प्रधानमन्त्री ओलीसँग घनिष्ठ पारिवारिक नाता छ । दुवै महिलाबारे विस्तृत विवरण प्राप्त गरे तापनि उनीहरूको व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै परिचय खुलाइएको छैन।

उनीहरू दुवैको रगत, पिसाब, मिर्गौलाको सीटी एन्जियो, डीटीपीए स्क्यान, ईसीजी, ईको, अल्ट्रासाउन्डलगायत परीक्षण साताअघि नै एक सरकारी अस्पतालमा भइसकेको छ । उनीहरूको ‘टेस्ट रिपोर्ट’ को विवरण उल्लेख गर्नुपर्ने स्थानमा ‘सम्भावित मिर्गौला दाता’ लेखिएको छ।

प्रत्यारोपणबारे जानकार विज्ञका अनुसार मुलुकमा सुरुमा विस्तृत स्वास्थ्य परीक्षण गरेर मिर्गौला दिन मिल्ने यकिन भइसकेपछि मात्र अन्तिममा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ गरिन्छ ।

‘एचएलए टाइपिङ’ मिलेमा र ‘क्रसम्याच नेगेटिभ’ भएमा मात्र प्रत्यारोपण गरिनेछ । ‘एचएलए’ नमिलेमा वा ‘क्रसम्याच पोजेटिभ’ भएमा अर्को सम्भावित दाता खोज्नुपर्ने हुन्छ ।

विकसित मुलुकमा भने सुरुमा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ रिपोर्ट हेरेर मिर्गौला दिन मिल्ने यकिन भएमात्र अरू परीक्षण गरिन्छ । ‘यी दुवै परीक्षण अत्यन्तै महँगो हुन्छ,’ एक मिर्गौला रोग विशेषज्ञले भने, ‘सबै परीक्षण सकाएर प्रत्यारोपणमा नगए दुई सातापछि क्रसम्याच दोहोर्‍याउनुपर्ने भएकाले नेपालमा भने अन्तिममा मात्र गरिन्छ।’

तर पनि दोस्रोपटक प्रत्यारोपणका लागि तयार पारिएका सम्भावित दाताको पहिला ‘क्रसम्याच’ सकेर मात्र अन्य परीक्षण गर्नु बढी सहज हुने उनको सुझाव छ ।

‘एचएलए म्याच नभए पनि क्रसम्याच नेगेटिभ भए निस्संकोच प्रत्यारोपणमा जान सकिन्छ,’ उनले भने, ‘नेपालमा भने एचएलए म्याच पोजिटिभ र क्रसम्याच नेगेटिभ भए मात्र त्यसलाई प्राथमिकता दिइन्छ । एचएलए म्याच नभएका खण्डमा सकेसम्म प्रत्यारोपण गरिन्न ।’

प्रधानमन्त्री ओलीको प्रत्यारोपण कहाँ गराउने भन्ने यकिन भइसकेको छैन । विगतमा जटिल समस्या हुँदा सबै उपचार विदेशमै गरेका कारण दोस्रो प्रत्यारोपण पनि विदेशमै गर्ने सम्भावना थियो । त्यसका लागि सिंगापुर, अमेरिका थाइल्यान्डलगायतका विकल्पहरू प्रधानमन्त्री निकटहरूले अघि सारेका थिए । नेपालमै पनि प्रत्यारोपण सफलताको दर उच्च छ।

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस र पेरिटोनाइटिसको समस्याका कारण आकस्मिक रूपमा ल्यापरोटोमी नै गर्नुपरेपछि तत्काल प्रत्यारोपणका लागि भने प्रतिकूल अवस्था आइपरेको छ।

चिकित्सकका अनुसार प्रधानमन्त्री शल्यक्रिया र पेटको संक्रमणबाट सामान्य अवस्थामा आएपछि मात्र प्रत्यारोपणबारे सोच्न सकिनेछ।

एक शल्यचिकित्सकका अनुसार सामान्यतः यस प्रकारको ठूलो शल्यक्रियापछि अत्यन्तै आवश्यक परे छ सातापछि, नभए तीन महिनापछि मात्र अर्को शल्यक्रिया गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad