छापा खबर


१५ वर्षीया किशोरीलाई भाउजूले नै पुर्‍याइन् वेश्यालय

१५ वर्षीया किशोरीलाई भाउजूले नै पुर्‍याइन् वेश्यालय

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार २:४९,

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको अफिसियल फेसबुक पेजमा मंसिर ८ मा एउटा सन्देश आयो ।

सन्देशमा वैदेशिक रोजगारीमा रहेका एक व्यक्तिले १२ वर्षको उमेरमा घरबाटै हराएकी आफ्नी छोरी दिल्लीको वेश्यालयमा बेचिएकाले छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरेका थिए । सन्देश पाएपछि प्रहरीले तत्कालै अनुसन्धान अगाडि बढायो ।

किशोरीलाई दिल्लीको वेश्यालयसम्म पुर्‍याउने घटनाको सुरुवात ०७३ कात्तिकमा भएको थियो । त्यतिबेला दीपावलीको रौनक सुरु हुनै लागेको थियो । ९ कक्षामा पढ्ने किशोरीको मन भने भिन्नै कुराले तुलबुल भइरहेको थियो ।

काठमाडौंको पूर्वी भागमा बाबुआमासँग डेरा गरेर बसेकी उनलाई भाउजू (भाञ्जादाइकी श्रीमती) ले अनोठौ सपना देखाउँदै घरबाटै लिएर हिँडेकी थिइन् । भाउजूले उक्साउँदै भनेकी थिइन्, ‘पढेर के गर्छौ ? भारत जाम । होन्डा कम्पनीमा मासिक २० हजार आउने जागिर मिलाइदिन्छु।’

नयाँ ठाम देख्न पाइने, रुचिअनुसारको कपडा लगाउन पाइने, मिठो खान पाइने र पैसा पनि कमाइने प्रलोभनको जालमा किशोरी परिहालिन् । उनलाई के थाहा, भाउजूले देखाएको नक्कली सपनाको बाटो हिँड्दा दिल्लीको कोठीमा पुगिन्छ भन्ने ।

भाउजूले उनलाई नजिकैको बसपार्कसम्म ल्याइदिइन् र लामा थरकी एक साथीको जिम्मा लगाइदिइन् । ती युवतीले उनलाई कोटेश्वर हुँदै महोत्तरीको ढल्केवर पुर्‍याइन् र सिम्रन भन्ने सीता लामालाई जिम्मा लगाइन् ।

सीताले किशोरीलाई वीरगन्ज लगेर एक रात राखी रक्सौल हुँदै दिल्ली पुर्‍याइन् । धनुषा बेंगाडाबर घर भई दिल्लीमा वेश्यालय सञ्चालन गरी बस्ने जोस्ना भनिने जुना खड्काले किशोरीलाई आफ्नो जिम्मामा लिइन् ।
देखाएको छ।

होन्डा कम्पनीको जागिर खाने सपना देखेकी किशोरी त्यतिबेला चकित परिन्, जतिबेला जुनाले उनलाई अश्लिल भिडियो देखाउँदै सोधिन्, ‘तिम्लाई यस्तो गर्न आउँछ ?’ जुनाका एक साथी थिए, दीपक ।

कलिली किशोरीलाई देखेपछि दीपकले भने, ‘यिनी नयाँ नै छिन्, तयार हुन एक महिना लाग्छ।’ त्यसपछिका केही साता उनले जुनाकै घरमा सरसफाइको काम गरिन्। यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

प्रहरीका अनुसार प्रत्येक दिन अश्लील सामग्री देखाउँदै किशोरीमा उत्तेजना ल्याउने प्रयास गरिएको देखिन्छ । जब उनीहरूलाई किशोरी तयार भइन् भन्ने लाग्यो, त्यसपछि नाम बदलेर सोनिया राखिदिए।

दिल्ली पुगेको १५ औं दिन किशोरीलाई जुनाले जबर्जस्ती मदिरा ख्वाइदिइन् र एक ग्राहकसँग यौन सम्पर्कका निम्ति बाध्य पारिन् । किशोरीले प्रहरी बयानमा त्यस्तो कामबापत जुनाले ५० हजार भारतीय रुपैयाँ बुझेको बताएकी छन्।

प्रत्येक दिन जबर्जस्ती मदिरा पिलाउने र यौन सम्पर्कका निम्ति बाध्य पार्ने क्रम चलिरह्यो ।

प्रत्येक दिन ३ देखि ५ जनासँग यौन सम्पर्कका निम्ति बाध्य पारिएको किशोरीले बताएकी छन् । उनले भनेकी छन्, ‘जुनाले एक रात ग्राहकसँग बसेबापत १५ हजार र एकपटक यौनसम्पर्क राखेबापत ५ हजार लिने गर्थिन्।’

सन्देश पाउनेबित्तिकै मानव बेचबिखन ब्युरोका अनुसन्धान अधिकारीले दिल्लीस्थित नेपाली दूतावासमा रहेका प्रहरी सहचारी एसएसपी राजन अधिकारीलाई किशोरीलाई उद्धार गर्न अनुरोध गरे ।

राजनले उद्धार गरेर किशोरीलाई नेपाल पठाइदिए । अनि प्रहरीले ९ गते धनुषाको बेंगाडाबरस्थित घर आएकी ३४ वर्षीया जुना र सीता लामालाई पक्राउ गर्‍यो ।

मानव बेचबिखन ब्युरोले फरार रहेकी भाउजूलाई पनि खोजिरहेको छ भने पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad