छापा खबर


श्रम स्वीकृति सरल बनाइँदै, यसरी गरिँदैछ सुधार

श्रम स्वीकृति सरल बनाइँदै, यसरी गरिँदैछ सुधार

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १:२०,

वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते वा आउँदो आइतबारदेखि ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली र मेसेजिङ सेवा सुरु गर्ने तयारी गरेको छ।

गएको सातादेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गर्न लागेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ विभागले विद्युतीय प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जनाएको छ।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगारीमा जान चाहने युवाको प्रक्रियागत कामलाई सरल र व्यवस्थित गराउने उद्देश्यले विद्युतीय पालो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए।

यो प्रणालीअन्तर्गत सेवाग्राहीले श्रमस्वीकृतिका लागि अनलाइनमार्फत फाराम पेस गर्नेबित्तिकै सेवाग्राहीको श्रम स्वीकृति लिने पालो कुन दिन पर्छ भन्ने थाहा हुने छ।

सेवाका लागि सेवाग्राहीले जुन कार्यालयमा छिटो पालो आउँछ त्यहाँबाट लिन सकिने भन्दै महानिर्देशक भुसालले भने, “पाल्पाबाट आउने सेवाग्राही हुनुहुन्छ भने काठमाडौँभन्दा बुटवलमा छिटो पालो आयो भने त्यहीँबाट लिन सक्नुहुन्छ।”

यो प्रणाली कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगार श्रम कार्यालय ताहाचलमा लाग्ने भीड पनि स्वतः कम हुने र सेवाग्राही दिनहुँ श्रम कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।

यस्तै श्रम स्वीकृतिका लागि सेवाग्राहीले फाराम बुझाइसकेपछि कारणवश अस्वीकृत हुने भएमा वा थप कागजात पेस गर्नु परेको खण्डमा विभागले मोबाइलमा एसएमएस (मेसेजिङ) पठाउने व्यवस्था गर्न लागेको छ।

श्रम स्वीकृतिको सूचना पनि मोबाइलको मेसेजमार्फत विभागले जानकारी गराउने व्यवस्था गर्ने छ । सेवाग्राहीले फाराम भर्दा पेस गरेको ईमेलमा श्रम स्टिकर पठाउने कार्य यसअघि नै कार्यान्वयनमा ल्याइसकेको विभागले जनाएको छ।

विभागका महानिर्देशक भुसालले विद्युतीय भुक्तानीका लागि लामो समयदेखि प्राविधिक तयारी गरेर सेवा प्रदायकसँग सम्झौताको चरणमा पुगेको र छिट्टै कार्यान्वयनमा जाने जानकारी दिए।

यो प्रणाली लागू भएपछि कल्याणकारी कोषको पैसा तिर्न बैङ्कमा जानुपर्ने वा बिचौलियाको सहयोग माग्नुपर्ने अवस्था पनि अन्त्य हुने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad