नेपालमै सुरक्षण मुद्रण उद्योग औसेक्युरिटी प्रिन्टिङओ खोलेर छपाइ गर्ने भन्दै सरकारले टेन्डर रद्द गरेपछि राहदानी अभाव हुने संकेत देखिएको छ।
उद्योग सञ्चालनमा आउनै वर्षौं लाग्ने अवस्थामा अहिले मौज्दात राहदानीले दुई वर्ष पनि पुर्याउन मुस्किल हुने खबर आजको कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले लेखेका छन्।
राहदानी विभागका अनुसार अब साढे ७ लाख राहदानी मात्रै बाँकी छन् । आर्थिक वर्ष २०७१–७२ मा १३ लाख ३६ हजार राहदानी बाँडिएका थिए । त्यसयता यो दर वर्षैपिच्छे ५ देखि साढे ५ लाखसम्म छ ।
गत आर्थिक वर्षमा मात्र ५ लाख १५ हजार राहदानी बाँडिएको विभागका प्रवक्ता तीर्थराज अर्यालले बताए।
विभागले प्रस्ताव पेस गर्ने अन्तिम दिन कात्तिक २१ गते नेपाल सरकारको निर्णय भन्दै अन्तर्राष्ट्रिय बोलपत्र रद्द भएको सूचना जारी गरेको थियो ।
विभागले ५० लाख नयाँ ई–पासपोर्ट (राहदानी) छाप्न भदौ १० गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।
आफ्नै देशमा मुद्रण केन्द्र स्थापनाको तयारी भइरहँदा विदेशी कम्पनीलाई राहदानी छपाइको जिम्मा दिन लागिएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री कार्यालयप्रति असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ ।
त्यसपछि कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्रालयलाई फ्रान्सेली कम्पनी इन ग्रुपसँग वार्ता गरी मुद्रण स्थापनाको सम्झौता गर्ने स्वीकृति दिएको हो ।
मन्त्रालयले अहिल्यै सम्झौता गरी काम थाल्दा पनि मौज्दात राहदानी सकिनुअघि छाप्न नभ्याइने जानकारहरू बताउँछन् । जति छिटो गरे पनि उद्योग स्थापना गर्न वर्षौं लाग्ने उनीहरूको भनाइ छ ।
‘कागज उद्योग वा कुनै रेल परियोजना सम्पन्न गरेभन्दा जटिल काम हो यो,’ लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्त भन्छन्, ‘नेपालले अहिलेसम्म नगरेको काम, त्यसमा पनि अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ । त्यसकारण मुद्रण उद्योग स्थापनामा महिनौं हैन, वर्षौं लाग्न सक्छ ।’
०६८ सालमा स्थापित बोर्डले पनि यसबारे अध्ययन गरेको थियो । पन्तका अनुसार निजी क्षेत्रले समेत चासो देखाएको थियो । ‘सुरक्षाका दृष्टिकोणले अलिकति पनि सम्झौता नगरी यो उद्योग स्थापना गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘निजी क्षेत्रभन्दा सरकारले नै लगानी, सञ्चालन र सुरक्षाको जिम्मेवारी लिनुपर्ने निष्कर्षमा पुगेका थियौं ।’
सरकारले नै उद्योग स्थापनाको अग्रसरता लिनु सकारात्मक भएको पन्तको टिप्पणी छ ।
Shares

प्रतिक्रिया