छापा खबर


कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू हुने

कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू हुने

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार ०:५८,

सरकारले आगामी शैक्षिक सत्रमा कक्षा १ र ११ बाट नयाँ पाठ्यक्रम सुरु गर्ने भएको छ।

पाठ्यक्रम विकास केन्द्रले १५ विषयको पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट पारित गरिसकेको छ भने ४० विषयको पाठ्यक्रम तयार गरी पारित गर्न परिषद्मा लैजाँदै छ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा.लेखनाथ पौडेलले आगामी वैशाखबाट कक्षा १ र साउनदेखि कक्षा ११ को पाठ्यक्रम सुरु गर्ने जानकारी दिए ।

उनले विद्यार्थी संख्या धेरै हुने १५ विषयको पाठ्यक्रम पारित भइसकेको, ४० विषयमा पाठ्यक्रम निर्माण गरी परिषद्बाट पारित गर्ने तयारी भएको बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

अघिल्लो वर्षदेखि नै नयाँ पाठ्यक्रम लागू गर्ने भनिए पनि तयारी कम र निजी विद्यालय सञ्चालकहरूले गुनासो गरेका कारण लागू हुन सकेको थिएन । अघिल्लो वर्ष सात विषय पढाउनुपर्ने व्यवस्था भए पनि त्यसलाई परिवर्तन गरी ६ विषय पढाए पुग्ने व्यवस्था गरिएको थियो।

केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूपमा केही परिवर्तन गरेर ०७७ देखि नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको हो । यसअघि सातवटा विषय पढाउनुपर्ने व्यवस्था गरेकामा नयाँ व्यवस्थाअनुसार केन्द्रले ६ विषय पढाउनैपर्ने र क्रेडिट आवर कम भएका विषय पढ्नेले थप एक विषय पढ्न सक्ने व्यवस्था गरेको छ । केन्द्रले राष्ट्रिय पाठ्यक्रमको प्रारूप परिवर्तन गरी नयाँ व्यवस्था गरेको हो।

निर्देशक पौडेलले आगामी शैक्षिक सत्रमा कक्षा १ र ११ बाट सुरु भएपछि कक्षा १ माथि माथिल्लो कक्षा र ११ बाट १२ तथा तल्ला कक्षामा नयाँ पाठ्यक्रम लागू गर्दै जाने बताए ।

०७८ मा कक्षा ६ बाट पनि नयाँ पाठ्यक्रम लागू गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ । ‘०७७ मा कक्षा ६ को पाठ्यक्रम परीक्षण गर्नेछौँ,’ पौडेलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad