छापा खबर


मन्त्रिमण्डल पुनर्गठन : ओली र प्रचण्ड आफ्ना मान्छेको संरक्षणमा

मन्त्रिमण्डल पुनर्गठन : ओली र प्रचण्ड आफ्ना मान्छेको संरक्षणमा

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार ०:४८,

प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ।

मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न नसकेपछि मंगलबार दुई शीर्ष नेताबीच पुनः छलफल हुने भएको छ।

सोमबार नै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा जानकारी गराउन शीतल निवास जाने तयारी थियो।

तर अध्यक्षद्वयबीच सहमति नभएपछि राष्ट्रपतिसँग भेट गर्न जाने कार्यक्रम रद्द भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

‘सहमति नजुट्नुको कारण निकटस्थ र आफन्तको संरक्षण कसरी भन्ने नै हो,’ स्रोतले भन्यो।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले तत्कालीन माओवादीतर्फबाट मन्त्री बनेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र खानेपानीमन्त्री विना मगरको सट्टा नयाँ मन्त्री नियुक्ति गर्न चाहेका छन्।

उनी पूर्वएमालेबाट पनि महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा, खेलकुदमन्त्री जगत विश्वकर्मा, भूमिसुधारमन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमध्ये केही मन्त्रीलाई पदमुक्त गर्ने योजनामा छन्।

पूर्वमाओवादी समूहबाट मन्त्री बनेका खानेपानीमन्त्री मगरका विषयमा सोमबार दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा पुनर्गठनमा ढिलाइ भएको बालुवाटार स्रोतको भनाइ छ।

छलफलमा ओलीले मगरलाई हटाउने, मन्त्रालय फेर्ने वा उनलाई मन्त्रिपरिषद्बाट झिक्दा दाहालले प्रस्तावित गरेका पूर्वएमालेतर्फका एक मन्त्रीलाई झिक्नेसम्मका प्रस्ताव गरे पनि दाहाल सहमत नभएको स्रोत बताउँछ। मंगलबार फेरि छलफल गर्ने भन्दै दाहाल बालुवाटारबाट बाहिरिएका थिए।

स्रोतका अनुसार अध्यक्षद्वयले निर्णायक निष्कर्ष निकाल्न नसकेका कारण मंगलबार पनि मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना न्यून छ। दुई अध्यक्षले यस विषयमा थप छलफल गर्ने भनिएको छ।

ओली–दाहालले साँझ बालुवाटारमा छलफल गर्नुअगाडि आआफ्नो निवासमा पार्टीका नेताहरूसँग थप छलफल गरेका थिए। आइतबारको पार्टी सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने ‘सैद्धान्तिक सहमति’ भएको थियो।

सचिवालय बैठकको उक्त कार्यादेशअनुसार अध्यक्षद्वय मन्त्रिमण्डल पुनर्गठन तयारीमा लागेका हुन्। प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेको २१ महिनापछि आपूm नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले आफ्नै सचिवालयका केही सदस्यसँग र महासचिव विष्णु पौडेलसँग छुट्टाछुट्टै आन्तरिक छलफल गरेका थिए भने दाहालले खुमलटारमा वरिष्ठ नेता माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, चक्रपाणि खनाललगायतसँग संवाद गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad