छापा खबर


मिर्गौला रोग बल्झिएपछि ओलीको नयाँ शैली

मिर्गौला रोग बल्झिएपछि ओलीको नयाँ शैली

नेपालखबर
मंसिर १, २०७६ आइतबार ३:४६,

पौने २ वर्ष एक्लै हिँडेका आरोप खेपेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली एक महिनायता पार्टी निर्णयबाट चल्ने अभ्यास गर्दै छन्।

पार्टी एकीकरण टुंगिने बेला उनले शीर्ष नेतासँगको सम्बन्ध सुधार र पार्टी निर्णयलाई महत्व दिन थालेको देखिन्छ।

प्रधानमन्त्री ओली अहिले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग समझदारीमै चलिरहेका छन्। खासगरी मिर्गाैला रोग बल्झिएपछि उनी नयाँ ढंगले चल्न खोजेका हुन्।

वरिष्ठ नेता झलनाथ खनालको वरीयताक्रम उकासेर र वामदेव गौतमलाई उपाध्यक्ष प्रस्ताव गरेर नजिक्याएका ओलीको सम्बन्ध अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग भने चिसिएको थियो।

कात्तिक अन्तिम साता नेता नेपालसँग एक्लाएक्लै बसेर मन माझामाझ गरेपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् हेरफेरमा लागेका छन्। यो विश्लेषण आज आइतबारको नेपाल साप्ताहिकमा जनक नेपालले गरेका हुन्।

जनमुखी हुन नसकेको भन्दै पहिलो बजेट ल्याएपछि नै पार्टीपंक्तिबाटै ओलीले आलोचना बेहोर्नुपरेको हो। मन्त्रीहरू एकपछि अर्काे विवादमा पर्न थाले। तत्कालीन एमालेले आफूअनुकूल मन्त्री छनोटको सुविधा ओलीलाई नै दिएको थियो। तर उनले सन्तुलन मिलाउन नसकेको भन्दै वरिष्ठ नेता नेपालले गुनासो गरिरहे।

मन्त्रीहरूको कार्यक्षमतामाथि प्रश्न उठ्यो। प्रधानमन्त्री कार्यालयले गरेको कार्य मूल्यांकनमै अधिकांश मन्त्रीहरू कमजोर देखिएपछि ओली मन्त्रिपरिषद् हेरफेरको मनस्थितिमा पुगेका थिए। तर अन्तरपार्टी समीकरणका कारण उनी केही मन्त्री चलाउन सक्ने स्थितिमा थिएनन्।

एक वर्ष पुग्दा नपुग्दै गृहमन्त्री रामबहादुर थापालाई अर्कै मन्त्रालयमा सार्ने टुंगोमा पुगेका थिए, प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, ठीक त्यसैबेला दिल्ली भ्रमणमा निस्केका दाहालले आलोपालो प्रधानमन्त्रीको गोप्य भनिएको सहमति सार्वजनिक गरिदिए। त्यसैबाट बिच्किएका ओलीले थापालाई गृहमन्त्रीमै राखेर सहयोग लिने रणनीति लिए।

मन्त्रिपरिषद् हेरफेर अड्काउने अर्की मन्त्री हुन्, खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर। मेलम्ची खानेपानी आयोजनामा सरकार पूरै असफल हुँदासमेत चाल नपाउने मन्त्री मगरलाई हटाएर ससुरा प्रचण्डलाई नाखुस बनाउन नचाहँदा पनि हेरफेर लम्बियो।

विश्लेषक झलक सुवेदी प्रधानमन्त्री ओली पार्टी र सरकारमा सन्तुलन मिलाएर नेतृत्वको छवि सुधार गर्ने मुडमा देखिएको बताउँछन्। भन्छन्, ‘सरकारको छवि सुधार्ने, पार्टीमा सन्तुलन मिलाउने र आफू लामो उपचारमा बस्दासमेत काम नरोकिने ढंगले तयारी गरेको बुझिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad