समाज


जोमसोम-कोरला सडक तीन दिन बन्द हुने

जोमसोम-कोरला सडक तीन दिन बन्द हुने

नेपालखबर
मंसिर १, २०७६ आइतबार ३:४७,

राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द हुने भएको छ।

जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मंसि ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सवारी आवतजावत रोकेर विस्फोटक पदार्थको प्रयोग गरेर सडक विस्तार गर्ने निर्णय गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।

निर्माणमा बाधा पुग्ने र दुर्घटनाको जोखिम भएकाले सवारी बन्द गरेर सडक विस्तार गर्न लागिएको आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए। असारदेखि समरको भिरमा ब्लास्टिङ गरी पहाड फुटाएर सडक विस्तारको काम भइरहेको छ।

चैले–भेना खण्डमा पर्ने समरको भिरलाई जोखिमयुक्त मानिएको छ । सो खण्डको १२ किलोमिटर सडक स्तरोन्नतिको काम कान्छाराम कोशी एण्ड न्यौपाने जेभीले पाएको छ।

उपल्लो मुस्ताङ भ्रमणमा जाने आउने पर्यटक तथा स्थानीयवासीलाई समस्या नहोस् भनेर पूर्वसूचना जारी गरिएको हो।

जोमसोम–कोरला ११० किलोमिटर सडकलाई सात खण्डमा विभाजन गरी काम शुरु भएको थियो । सडकको दुई पटक म्याद थप भइसकेको छ भने पछिल्लो समय थपिएको म्याद असारमा सकिँदै छ।

एघार मिटर फराकिलो ग्राभेल सडकको चार खण्डको काम अन्तिम चरणमा पुगेको छ।

छोसेरदेखि कोरला १६ किलोमिटर सडक गत वर्ष करिडोरलाई हस्तान्तरण भइसकेको छ। चराङदेखि छोसेर खण्डको काम सुस्त भएकाले अपेक्षाअनुसार सडकको प्रगति नभएको करिडोरले जनाएको छ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले निर्माण व्यवसायीको ढिलासुस्तीले न्यून मात्र काम भएको बताए। उपल्लो मुस्ताङमा हिउँदयाममा हिमपात हुने, चिसो शीतलहर हुने भएकाले पुसदेखि फागुनसम्म काम हुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad