छापा खबर


प्रधानमन्त्रीको उपचारमा पाँचमहिना लाग्ने

प्रधानमन्त्रीको उपचारमा पाँचमहिना लाग्ने

नेपालखबर
मंसिर १, २०७६ आइतबार ०:२६,

प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेबारीबारे पनि छलफल चलिरहेको छ।

प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्णरुपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

प्रारम्भिक सहमति भएपछि यो विषयमा सचिवालयबाटै निर्णय गर्ने तयारी छ । ५ भदौमा ओली सिंगापुर जाँदा बसेको सचिवालय बैठकले अध्यक्षका रूपमा कार्यकारी अधिकार प्रचण्डलाई दिएको थियो।

प्रधानमन्त्री ओलीले पार्टीभित्रका आन्तरिक समस्या पनि सम्बोधन गर्ने गरी एकता र समझदारीको सन्देश दिने प्रयास गरिरहेका छन् ।

वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरेका उनले वरिष्ठ नेता माधवकुमार नेपालसँगको दूरी पनि घटाएका छन् । नेपालसँगको सम्बन्धबारे लामो समीक्षापछि उनले मिलेर पार्टीलाई अघि बढाउन सहयोग गर्न आग्रह गरेका छन् ।

अर्का वरिष्ठ नेता झलनाथ खनालको वरीयताको मुद्दा सम्बोधन गरेका ओलीले नेता वामदेव गौतमलाई मनाउन कास्कीबाट निर्वाचन लड्नसमेत जोड दिएका थिए ।

त्यति मात्र होइन, उनले गौतमलाई राष्ट्रिय सभा सदस्य बन्नसमेत आग्रह गरेका छन् । गौतमसँगै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रिय सभा सदस्य बनाउने विषयले नेकपाभित्र प्रवेश पाएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने ओलीको तयारी छ । ओली स्वास्थ्य उपचार र विदेश भ्रमणमा रहेका वेला पोखरेलले नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हाल्ने गरेका छन् ।

प्रधानमन्त्री ओलीले ‘कार्यसम्पादन मूल्यांकनका आधारमा’ मन्त्रिपरिषद् हेरफेरको गृहकार्यसमेत गरेका छन् । यो विषयमा उनले अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरिरहेका छन् । त्यस्तै, पछिल्लोपटक वरिष्ठ नेता माधवकुमार नेपालबाट पनि सुझाब लिएका छन् ।

२५ सदस्यीय मन्त्रिपरिषद्बाट कम्तीमा सातदेखि १० जना मन्त्री फेर्ने गरी गृहकार्य चलिरहेको बालुवाटार स्रोतले बतायो ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad