छापा खबर


नयाँ प्रदेश प्रमुख को कस्ता?

नयाँ प्रदेश प्रमुख को कस्ता?

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार ३:१२,

राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा सोमबार साँझ भण्डारीले कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ लाई प्रदेश १, बाँकेका तिलक परियारलाई प्रदेश २, झापाका विष्णु प्रसाईंलाई प्रदेश ३, म्याग्दीमा जन्मिएर चितवनलाई राजनीतिक थलो बनाएका अमिक शेरचनलाई गण्डकी, सिरहाका धर्मनाथ यादवलाई प्रदेश ५, बैतडीका गोविन्द कलौनीलाई कर्णाली प्रदेश र काठमाडौंकी शर्मिलाकुमारी पन्तलाई सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।

नेकपाको सक्रिय राजनीति गरिरहेका उनीहरूलाई प्रदेश प्रमुख नियुक्त गर्न मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिफारिस गरेको थियो।

नियुक्त भएकामध्ये ४ जना पूर्वएमाले र ३ जना पूर्वमाओवादी पक्षका छन्।

अधिकारी, प्रसाईं, यादव र कलौनी पूर्वएमालेका हुन् भने परियार, शेरचन र पन्त पूर्वमाओवादी पृष्ठभूमिका भएको खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

अमिक शेरचन
गण्डकी प्रदेश प्रमुख नियुक्त भएका शेरचन २००६ सालमा म्याग्दीको ओखरबोटमा जन्मिएका हुन् । २०१७ सालदेखि नै उनी राजनीतिमा सक्रिय थिए । १६ वर्ष भूमिगत र ३ वर्ष जेल जीवन बिताएका उनले राजनीतिशास्त्रमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन्।

२०६३ सालमा तत्कालीन नेकपा माओवादीसँग पार्टी एकता हुनुअघि उनी तत्कालीन नेकपा एकता केन्द्रको चुनावी मोर्चा जनमोर्चा नेपालका अध्यक्ष थिए।

२०६३ को राजनीतिक परिवर्तनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शेरचन उपप्रधानमन्त्री बनेका थिए । २०६४ को संविधानसभा चुनावमा चितवन क्षेत्र ५ बाट विजयी भएका थिए।

उनले तत्कालीन संविधानसभाको राष्ट्रिय हित संरक्षण समिति सभापतिको भूमिकामा काम गरेका थिए । त्यसबेला उनले प्रत्येक नागरिकलाई सैन्य तालिम दिनुपर्ने भनी गरेको प्रस्ताव विवादमा परेको थियो । सरकारले प्रदेश प्रमुखमा सिफारिस गर्नुअघिसम्म उनी पार्टीमा भूमिकाविहीन जस्तै थिए।

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएपछि शेरचनलाई आमन्त्रित स्थायी समिति सदस्य बनाइएको थियो । त्यसप्रति उनले असन्तुष्टि जनाउँदै आएका थिए।

तिलक परियार
प्रदेश २ का प्रमुख परियार नेकपाका केन्द्रीय सदस्य एवं पुराना वामपन्थी नेता हुन्।

२०२८ सालदेखि राजनीति सुरु गरेका उनले लामो समय भूमिगत राजनीति गरेका थिए । २०६४ सालको संविधानसभा चुनावमा तत्कालीन एकीकृत नेकपा माओवादीबाट बाँके क्षेत्र नम्बर १ मा निर्वाचित भएका थिए।

दोस्रो संविधानसभा चुनावमा मोहन वैद्य नेतृत्वको माओवादीमा लागेर उनले संविधानसभा चुनाव बहिष्कार गरे। पछि रामबहादुर थापाहरूसँगै पुनः पुष्पकमल दाहाल नेतृत्वको माओवादीमा फर्किए।

गोविन्द कलौनी
कर्णाली प्रदेश प्रमुख कलौनी पूर्वएमालेमा रहेर सक्रिय राजनीति गरेका नेता हुन् । दोगडाकेदार गाउँपालिका बैतडीमा जन्मिएका उनी २०५१ को मध्यावधि चुनावमा डडेलधुरामा नेपाली कांग्रेसका शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए।

२०५६ मा तत्कालीन नेकपा मालेबाट बैतडीमा र २०६४ मा एमालेका तर्फबाट कञ्चनपुरमा उम्मेदवार बने तर कुनै पनि चुनावमा विजयी हुन सकेनन् । विज्ञान विषयका शिक्षक कलौनी शिक्षण पेसा छाडेर राजनीतिमा लागेका हुन्।

सोमनाथ अधिकारी ‘प्यासी’
कास्कीका अधिकारी प्रदेश १ प्रमुखमा नियुक्त भएका छन्। २००७ सालमा जन्मिएका अधिकारी २०१८ देखि कम्युनिस्ट राजनीतिमा लागेका हुन्।

नेकपाको आमन्त्रित स्थायी समिति सदस्य उनले बारम्बार जेलजीवन बिताएका छन् । बीएडसम्म अध्ययन गरेका अधिकारी राजनीतिसँगै साहित्यमा पनि रुचि राख्छन्।

२०४३ मा तत्कालीन मालेको तर्फबाट राष्ट्रिय पञ्चायत सदस्य जितेका उनले २०४८ सालको चुनावमा कास्की ३ बाट चुनाव जितेका थिए। यस पटक मंसिर १४ गते कास्की २ मा हुन लागेको उपचुनावमा गण्डकी प्रदेश कमिटीले उनको नाम पनि सिफारिस गरेको थियो।

तर पार्टीले विद्या भट्टराईलाई टिकट दिएर उनलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो।

धर्मनाथ यादव
प्रदेश ५ को प्रमुखमा नियुक्त भएका यादव सिरहाका नेता हुन् । एमाले पृष्ठभूमिका ७६ वर्षीय यादव लामो समयसम्म शिक्षण पेसामा आबद्ध थिए।

२०२७ देखि २०४८ सम्म स्थानीय विद्यालयमा पढाएका उनी २०४८ को संसदीय निर्वाचनमा सिरहा १ मा उम्मेदवार थिए तर चुनाव हारे । तत्कालीन एमालेको अनुशासन आयोगको सदस्य रहेका उनी प्रदेश प्रमुखहरूमध्ये सबैभन्दा ज्येष्ठ हुन्।

विष्णु प्रसाईं
प्रदेश ३ को प्रमुख प्रसाईं पञ्चायतकालमा कम्युनिस्टहरूले सञ्चालन गरेको झापा आन्दोलनमा सक्रिय थिए । २०१० साउन २१ गते जन्मिएका उनले एसएलसी उत्तीर्ण गरेका छन्।

उनी अहिले नेकपा प्रदेश १ कमिटीका सदस्य थिए । २०५६ सालको संसदीय चुनावमा उम्मेदवार रहे पनि उनी पराजित भएका थिए । तत्कालीन एमालेले उनलाई झापाको मेचीनगर नगरपालिकाबाट चुनावमा उठाएको थियो । उक्त चुनाव पनि उनले जित्न भने सकेनन्।

शर्मिलाकुमारी पन्त
५१ वर्षीया पन्त सुदूरपश्चिम प्रदेशको प्रमुख नियुक्त भएकी छन् । उनी बेपत्ता पारिएका परिवारकी सदस्य हुन् । उनका श्रीमान् ज्ञानेन्द्र त्रिपाठीलाई २०६० असोज ९ गते तत्कालीन सेनाले काठमाडौंको शान्तिनगरबाट बेपत्ता पारेको थियो।

२०२५ साल पुसमा जन्मिएकी उनले स्नातकसम्मको अध्ययन गरेकी छन् । उनले २०५७ बाट तत्कालीन माओवादीको सदस्यता लिएर राजनीति सुरु गरेकी हुन् । उनी तत्कालीन एमाओवादीनिकट राज्यले बेपत्ता पारेका व्यक्तिको परिवार समाजको अध्यक्ष पनि थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad