छापा खबर


पेट्रोल खोज्दा ज्वाला निभ्ला है!

पेट्रोल खोज्दा ज्वाला निभ्ला है!

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार १:४७,

खोला छेउमा वर्षौंदेखि ठाउँ–ठाउँ फुरुरु आगाको ज्वाला बलिरहन्थे । धार्मिक महत्त्वको दैलेखको पञ्चकोसी क्षेत्रमा स्थानीयले त्यसलाई भगवान्को लीला नै सम्झिए।

आस्था राख्दै पुज्दै आएका थिए । उक्त ज्वाला निरन्तर बलिरहनुको वैज्ञानिक कारण जमिनमुनि पेट्रोलियम पदार्थ हुन सक्ने भन्दै खोजी सुरु भएपछि भने स्थानीयलाई चिन्ता छ– खोजीका कारण ज्वाला त निभ्दैन।

नेपाल सरकारका लागि चिनियाँ पेट्रोलियम अन्वेषण टोली उक्त क्षेत्रमा पुगेको छ । कता–कता उत्खनन गरे पेट्रोलियम पदार्थको स्रोत फेला पर्छ भन्दै नापनक्साको काम भइरहेको छ।

यस्तो खोजी थालिएपछि प्राचीनकालदेखि बलिरहेको ज्वालाबारे स्थानीयस्तरमा चिन्ता भएको खबर आजको कान्तिपुर दैनिकमा दैलेखबाट ज्योति कटुवालले लेखेकी छन्।

उक्त क्षेत्रका पण्डित तिलकप्रसाद रिजाल वैज्ञानिक विधिले खोजी गरिनु मुलुककै लागि हितकर भए पनि ज्वाला जोगाउनुपर्ने बताउँछन् ।

पञ्चकोसी क्षेत्र करिब ३ हजार वर्ष (१८७३ साल) देखि धार्मिक तथा पुरातात्त्विक महत्त्वको स्थलका रूपमा छ । ‘खोलामा निरन्तर बलिरहने ज्वाला यो ठाउँको प्रमुख आकर्षण हो,’ उनी भन्छन्, ‘जमिन मुन्तिर पेट्रोलियम पो छ कि भनेर खोज्नु ठीक हो तर ज्वालालाई कसरी जोगाउने भन्नेबारे पनि सोचिनुपर्छ।’

ज्वालालाई जोगाइराख्न श्रीस्थान, नाभिस्थान र पादुका क्षेत्रबाट कम्तीमा ५ कोस टाढा अन्वेषणको काम गरिनुपर्ने उनले बताए ।

खोजीमा खटिएको टोलीले ज्वालादेखि ५ मिटर नजिकै काम थाल्ने तयारी गरेको छ । यसका लागि जमिनमा निकै मुनिसम्म ‘ड्रिल’ गरेर हेर्ने तयारी भइरहेको छ ।

‘यस्तो देखेपछि ज्वाला जोगिनुपर्छ भनेर हामी पटकपटक प्रशासनमा डेलिगेसन गइसक्यौं,’ श्रीस्थान व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष केशव थापाले भने, ‘सुनुवाइ भएजस्तो लागेको छैन।’

श्रीस्थानलगायत करिब १४ किमि क्षेत्रमा पेट्रोलियम फैलिएको अनुमान प्राविधिक टोलीको छ । स्थान छनोट गरी ‘ड्रिलिङ’ गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad