पूर्वी रोल्पाकी शारदा ९ कक्षामा पढ्दापढ्दै गर्भवती भइन्।
१५ वर्ष नपुग्दै गर्भवती भएकी उनले पढाई छाडेर विवाह गरिन्।
विवाह नगरी यौन सम्पर्क गर्दा बच्चा जन्मिँदैन भन्ने सुनेकी उनले अस्थायी साधनबारे थाहा हुँदाहुँदै पनि आवश्यकता महसुस गरिनन्।
यो खबर आजको नागरिक दैनिकमा रोल्पाबाट दिनेश सुवेदीले लेखेका छन्।
‘बिहे नहुँदै गर्भ बस्छ भन्ने थाहा भएन। थाहा भएको भए यस्तो हुँदैनथ्यो,’ शारदा पढ्ने इच्छा हुँदाहुँदै बिट मार्नुपरेकोमा दुःखि छिन्। उनले भनिन्, ‘यौन सम्पर्क राख्ने रहरले अर्को रहर सकियो।’
शारदा जस्ता यौनशिक्षाबारे थाहै नपाएका किशोरीबारे कुनै सरकार र तहले चासो नै दिएका छैनन।
स्वास्थ्यकर्मी भने विवाहअगाडि यौन सम्पर्क राख्दा गर्भ रहन्छ भन्ने जानकारी नपाएका किशोरकिशोरी पनि छन् भन्ने मान्ने पक्षमा छैनन्।
‘अस्थायी साधनबारे थाहै नपाएको त होइन। बरु युवा अवस्थाको शारीरिक आकर्षणले बालविवाह बढेको छ। किशोरकिशोरीलाई अस्थायी साधनको जानकारी हुन्छ तर उपयोग गर्न असहज मान्छन्। सेवा लिन लाज मान्छन्,’ जिल्ला अस्पतालकी स्टाफ नर्स मीना कवर भन्छिन्, ‘सबै ठाउँमा सेवाको पहुँच पनि गतिलोे छैन।’
किशोरकिशोरीले गर्भनिरोधका अस्थायी साधनको प्रयोगमा असहज मान्ने गरेको भए पनि गर्भपतनमा भने चासो दिने गरेका छन्।
कवर भन्छिन्, ‘अस्थायी साधन प्रयोग नगरे पनि गर्भपतन गर्न भने आउँछन्। अविवाहितको गर्भपतन गर्ने संख्या पनि बढेको छ। अविवाहित किशोरी अस्थायी साधनका लागि कहिल्यै आउँदैनन् बरु गर्भपतनका लागि आउँछन्।’

प्रतिक्रिया