छापा खबर


आलम पक्राउपछि रौतहटमा हत्याका पुराना मुद्दा ब्युँताइँदै

आलम पक्राउपछि रौतहटमा हत्याका पुराना मुद्दा ब्युँताइँदै

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार ३:४८,

राजपुर फरदहवा बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हाली मारेको घटनामा अनुसन्धान सुरु भएपछि रौतहटमा भएका अन्य व्यक्ति हत्याका घटनाप्रति पनि चासो सुरु भएको छ।

राजनीतिक प्रतिशोध, लेनदेन, फिरौती र अन्य कारणले गोली हान्दै मान्छे मारिएका तर अनुसन्धान नटुंगिएका दर्जनौं घटनाको छानबिन ब्युँतिने आशा पीडित परिवारमा पलाउन थालेको खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा, शिव पुरीले लेखेका छन्।

राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीलाई गौर–८ स्थित जिल्ला अदालतअगाडि २०६८ असार २३ मा गोली प्रहार भएको थियो । बजारबाट पान किनेर आफ्नो घरतर्फ जान हिँडेका उनीमाथि कसले र किन गोली प्रहार गर्‍यो, कसैले ठम्याउनै सकेनन् । स्थानीयले घाइते अवस्थामै उनलाई नजिकैको गौर अस्पतालमा पुर्‍याए तर ज्यान बचेन।

आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक पाएका उपेन्द्रले विभिन्न कुस्ती प्रतियोगितामा अब्बल क्षमता देखाएका थिए । उनले तत्कालीन राजा वीरेन्द्र शाहबाट गोरखा दक्षिणबाहुसमेत प्राप्त गरेका थिए । ख्याति प्राप्त खेलाडी भए पनि उनको हत्याको निष्पक्ष छानबिन र दोषी पत्ता लगाउने काममा सधैं अलमल भइरह्यो ।

एमालेनिकट रहेका उपेन्द्रको केही माओवादी कार्यकर्तासँग पहिलो संविधानसभा निर्वाचनको दिन वादविवाद भएको थियो । उनको हत्यालाई केहीले त्यही राजनीतिक विवादसँग पनि जोडेर हेरे । घटनाको नौ वर्ष बितिसक्दा पनि बैरागीको हत्या रहस्यमै छ ।

उपेन्द्रका जेठा दाइ राजेन्द्रको पनि २०६० पुस २० मा गोली हानी हत्या गरिएको थियो । माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा रहेका बेला तत्कालीन एमालेका समर्थक राजेन्द्रको हत्यालाई राजनीतिक प्रतिशोधका रूपमा हेरिएको थियो । राजेन्द्र हत्याको प्रश्न पनि अनुत्तरित नै रह्यो ।

तत्कालीन माओवादीको दशक लामो सशस्त्र द्वन्द्वका अन्तिम वर्षहरूमा मध्य मधेसको रौतहट हिंसाको केन्द्र जस्तै बनेको थियो । राजनीतिक प्रतिशोधमा हुने व्यक्ति हत्याका घटना नियमित आकस्मिकता जस्तै भए ।

त्यसै शृंखलाको एउटा घटना थियो, २०६३ चैत ७ मा गौरको राइस मिलमा भएको नरसंहार । उक्त घटनामा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad