छापा खबर


जब भालुले ‘ब्रेक डान्स’ देखाउँछ...

जब भालुले ‘ब्रेक डान्स’ देखाउँछ...

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार २:२९,

गाउँघरमा भालुको नाच देखाएर उनको गुजारा चलेको छ । सिरहा सुखिपुर–८ का ३० वर्षीय साविरको परिवारमा १० जना छन्।

चटक देखाउने पेसा गर्न उनले भालु जंगलबाट समातेर ल्याएका होइनन् । बाजे हथियालाई बिहेमा ससुरालीले दाइजोमा भाले र पोथी भालु दिएका थिए । अहिलेको भालु तिनै जोडीको अन्तिम सन्तान हो।

विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन अझै हटिसकेको छैन ।

तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ।

तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदायअन्तर्गतको नट जातिले विवाह कर्ममा दाइजोमा भालु र सर्प दिने गरेका खबर आजको कान्तिपुर दैनिकमा सिरहाबाट भरत जर्घामगरले लेखेका छन्।

सिरहाको सारस्वर बस्ने हथियाको विवाह भारतको गोरखपुरमा भएको थियो । बजैले दाइजोमा दुईवटा भालु घरमा आफूसँगै भित्र्याएकी थिइन् ।

‘त्यही भालु नचाएर बाजेले गुजारा चलाए,’ साविर भन्छन्, ‘त्यही भालेपोथीबाट जन्मिएका बच्चा बाजेले छोरीहरूका बिहेमा दाइजोमा दिए । छोराहरूलाई पनि भालु नै अंश दिए।’

बाजेको शेषपछि अंशमा पाएको भालुबाट साविरका बुबा अबु मोहम्मद र काका फूल मोहम्मदले पुर्ख्यौली पेसा अँगाल्दै चटक देखाएर गुजारा चलाए।

अबु मोहम्मदले पनि दिदीहरूका बिहेमा त्यही भालुको बच्चा दाइजो दिए । अबु वृद्ध भएपछि अहिले साविरले बाजेले दाइजोमा पाएको तिनै भालुको २७ औं सन्तानबाट गुजारा चलाउँदै आएका छन्।

भालुलाई उनी धुथरु भनेर बोलाउँछन् । एकवर्षे धुथरु भाले हो । साविरले ६ महिना तालिम दिएपछि धुथरु नाचमा सिपालु भयो । अहिले त्यसको नाचबाट हुने आम्दानीले साविरको घर चलेको छ।

‘धुथरुले माला जप्ने, चर्खा काट्ने, बच्चा खेलाउने, मातेको मान्छे जसरी हिँड्ने, ब्रेक डान्ससमेत ६ प्रकारका कला प्रस्तुत गर्छ,’ सिरहाको घलेटोलमा भालु नचाइरहेको भेटिएका साविरले भने, ‘कला प्रदर्शन गरेपछि धुथरु आफैं कचौरा बोकेर पैसा थाप्न दर्शकमाझ पुग्छ।’

एक ठाउँमा आधा घण्टा धुथरुको नाच हेरेपछि दर्शकले प्रशंसा गर्दै पैसा दिन्छन् । एक घण्टासम्म देखाइने नाचमा एकपटकमा ५ सयदेखि १५ सय रुपैयाँसम्म हुने गरेको साविरले सुनाए ।

आफू र भालुलाई ख्वाएर मासिक १५ हजार रुपैयाँ जोगिने गरेको छ । उनका अनुसार धुथरुले एक दिनमा ४ लिटर दूध, एक किलो पिठो र एक किलो चामलको भात खान्छ।

नट जातिको सम्पत्ति नै भालु र सर्प

तराई मधेसमा छरिएर बसेका नट अल्पसंख्यक जाति हुन् ।

सुकुम्बासी र फिरन्ते जीवन बिताउने यो जातिको मुख्य पेसा महिलाहरूले खोदा (टाटु) भर्ने र पुरुषहरूले सर्प, बाँदर, भालु नचाउनु हो ।

‘सर्प नचाउने नट जातिमा जसको सर्प बढी छ, भालु छ उनै आफ्नो समुदायमा धनी कहलाउँछन्,’ मुस्लिम संघका केन्द्रीय सदस्य मोहम्मद हनिफ भन्छन्, ‘अरू जातमा छोरीलाई दाइजोमा धनदौलत, सुनचाँदी, पैसा दिने गर्छन् तर नटहरू छोरीको बिहे गर्दा अनिवार्य रूपमा दाइजोमा सर्प दिनुपर्ने चलन छ।’

पहिले यस्तो चलन भए पनि शिक्षाको विकाससँगै अहिले नट जातिले सपेरा र जनावर नचाउने चटकेको पेसा छाड्दै गएको उनले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad