छापा खबर


झापाका विद्यार्थीले बनाए हात्ती धपाउने साइरन ड्रोन

झापाका विद्यार्थीले बनाए हात्ती धपाउने साइरन ड्रोन

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार २:५१,

झापाका विद्यार्थी अनिल प्रधानले जङ्गली हात्ती धपाउने साइरन ड्रोन विकास गरेका छन्।

कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले आफ्नै घरमा ड्रोन बनाएका हुन्।

उनले साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी प्रयोग पनि गरिसकेका खबर आजको गोरखापत्र दैनिकमा झापाबाट टीकाराम उप्रेतीले लेखेका छन्।

‘मेरो घर आसपासमा जहिले पनि जङ्गली हात्ती आउने र दुःख दिने गथ्र्यो । झापामै हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको छ। यसले गर्दा हात्तीलाई कसरी धपाउन सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गरिरहेको थिएँ,’ प्रधानले भने, ‘मौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने तथ्य फेला परेपछि मौरीको भुनभुन आवाजलाई ड्रोनमा जडान गरेको हुँ।’

यो ड्रोनमा रातो बत्तीसमेत प्रयोग गरिएको छ। हात्तीको नजिकै लगेर ड्रोन उडाएपछि मौरी आएको त्रासमा हात्ती ठूलो आवाजका साथ गर्जंदै जङ्गलतिर भाग्ने गरेको प्रधानले बताए।

पाँच किलोमिटर दूरीसम्म रिमोटले काम गर्ने भएकाले आफू पनि सुरक्षित भएर हात्तीलाई टाढाबाट नै धपाउन सकिने उनको भनाई छ।

यो ड्रोनको सफल परीक्षण भइसकेको डिभिजन वन कार्यालय, झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए। “कुनै ठूलो खर्च र क्षतिबिना नै हात्ती भगाउन सकिने यो सबैभन्दा प्रभावकारी उपाय भएको छ”, घिमिरेले खुसी हुँदै भने।

डिभिजन वन कार्यालय, झापाको समेत सहभागितामा स्थानीय बासिन्दासहितको टोलीले हात्ती धपाउन साइरन ड्रोन परीक्षण गरेको थियो। गत बिहीबार र शुक्रबार राति यसको परीक्षण गरिएको थियो।

बिहीबार राति मेची नगरपालिकाको दुवागढीमा आएका सातवटा र शुक्रबार राति साढे २ बजे भद्रपुर नगरपालिकाकै जलथल क्षेत्रमा आएका पाँचवटा जङ्गली हात्तीलाई यो ड्रोनले धपाएको थियो।

नगरपालिकाको लगानी भएकाले ड्रोनमा ‘भद्रपुर नपा साइरन ड्रोन’ लेखिएको छ । कुल अढाई लाख रुपियाँको खर्चमा यो ड्रोन तयार भएको प्रधानको भनाइ छ।

झापा जङ्गली हात्तीबाट सबैभन्दा बढी प्रभावित जिल्ला हो । यहाँ हात्तीको प्रभाव न्यूनीकरण गर्न विभिन्न योजना सञ्चालन भएका छन्।

जिल्लाको दक्षिणपूर्वी कचनकवल गाउँपालिकादेखि पूर्वी–उत्तरमा मेची नगरपालिकाको बाहुनडाँगीसम्मको १५२ किलोमिटर क्षेत्रलाई हात्ती कोरिडोर क्षेत्र घोषणा गरिएको छ । यहाँ पूरै विद्युतीय तारबार लगाउने योजना छ। अहिलेसम्म ४३ किलोमिटर तारबार लगाइसकिएको छ।

जिल्लामा अहिलेसम्म जङ्गली हात्तीको आक्रमणबाट मात्र ३९ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad