छापा खबर


१७ जनालाई इँटाभट्टामा जिउँदै जलाइएको घटनाः यसो भन्छन् हत्या आरोपी आलमका भाइ

१७ जनालाई इँटाभट्टामा जिउँदै जलाइएको घटनाः यसो भन्छन् हत्या आरोपी आलमका भाइ

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ३:३,

१७ जना सर्वसाधारणको हत्या आरोपमा पक्राउ परेका कांग्रेस नेता तथा सांसद अफ्ताव आलमका भाइ मोहम्मद सकिल अख्तरले दुई तिहाइको कम्युनिष्ट सरकारले दाजुलाई फराउन खोजेको आरोप लगाएका छन्।

आलमका काकाको छोरा मोहमद सकिन कांग्रेसको तर्फबाट निर्वाचित रौतहटको राजपुर नगरपालिकाका मेयरसमेत हुन्।

आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित मोहमद सकिनको अन्तर्वार्ताको सार संक्षेपः

२७ चैत ०६४ को साँझ तपाईं कहाँ हुनुहुन्थ्यो ?
राजपुर स्थित घरमै थिएँ ।

कांग्रेसका पुराना नेता सेख इद्रिसको टहरोदेखि तपाईंको घर कति टाढा छ ?

एकै ठाउँमा हो । उहाँको टहरो घर र मेरो घरको साँध जोडिएको छ।

२७ चैत ०६४ को साँझ खास के भएको हो ?

केही पनि भएको छैन । भोलिपल्ट चुनाव थियो । गाउँमा चुनावको महोल थियो । सुरक्षाकर्मी गाउँमा थिए । अरू के हुन्थ्यो ।

त्यस दिन इद्रिसको टहरोमा बम विस्फोट हुँदा कहाँ हुनुहुन्थ्यो?

कहाँ विस्फोट भयो बम ? मलाई त थाहा छैन । घरमै बसेको मान्छे म । मलाई त थाहा हुनुपर्ने हो । त्यसमाथि चुनावमा गाउँभर सुरक्षाकर्मी खटिएका थिए । उनीहरूलाई त थाहा हुनुपर्ने हो । त्यस दिन सुरक्षा–प्रबन्ध निकै कडा थियो । त्यस्तो वेला कसरी बम विस्फोट हुन सक्छ?

बमको धमाका ११ किलोमिटर टाढाको गौरमा बसेका मान्छेले समेत सुनेको अहिले पनि बताउँछन् । धुवाँको मुस्लो पनि माथि आकासमा उडेको थियो रे?

पटका पड्केको हुन सक्छ । मान्छेले त्यसैलाई बम भनिदिए । खासमा भएको केही होइन।

धुवाँको मुस्लो कसरी उड्यो त?

चैतको महिना । गाउँको गोठमा आगो फुकेको हुन सक्छ । धुवाँ त्यसैबाट उड्यो होला । त्यो बमकै धुवाँ थियो भन्ने के ग्यारेन्टी छ ?

घटनास्थलमा ओसी अख्तरको कपडा, जुत्ता भेटियो भन्ने छ नि?

को ओसी अख्तर ? हामी त चिन्दैनौँ । फेरि त्यहाँ भेटिएको कपडा र जुत्ता ओसी अख्तरकै थियो भन्ने के ग्यारेन्टी छ ? थोडी त्यो कपडा र जुत्तामा ओसी अख्तरको नाम लेखिएको थियो ? कपडा त जोसुकैको हुन सक्छ नि ।

ओसी अख्तरलाई चुनावी प्रचार त तपाईंकै दाइले ल्याएको होइन?

चुनाव प्रचारमा उसलाई किन ल्याउनु । ऊ त अर्कैै पार्टीको मान्छे । प्रचार गर्न हामीसँगै काफी कार्यकर्ता छन् ।

पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई चिन्नुहुन्छ?

अलिअलि चिन्छु ।

को हो त्यो मान्छे?
गाउँको गुण्डा हो । अपहरण मुद्दामा जेलसमेत परेको मान्छे हो त्यो । जिल्ला प्रहरी कार्यालयमा रेकर्ड हेर्दा हुन्छ ।

ओसी र पिन्टु २७ चैतको बम विस्फोटमा परेर घाइते भएको अनि पछि इन्जेक्सन लगाएर मारेको होइन र ?

जब कि बम नै विस्फोट भएको होइन भने उनीहरूको मृत्यु कसरी हुन्छ ?

विस्फोट भएको मात्रै होइन, इँटाभट्टामा लगेर जलाएको देख्ने प्रत्यक्षदर्शी सरुहट्ठाका समसुल मियाँले त्यही भन्छन् त ?

सरुहट्ठा राजपुरबाट पाँच किलोमिटर टाढा छ ।त्यहाँको मान्छे कसरी प्रत्यक्षदर्शी हुन सक्छ ?

इँटाभट्टा लगेर १७ भन्दा धेरै जिउँदा र मृत शरीर जलाएको भन्छन् नि उनी ?

विस्फोट नै भएको छैन भने कसरी १७ जनाको मृत्यु हुन्छ ? अनि कसरी इँटाभट्टामा लगेर जलाइन्छ ? यो सब झुट हो ।

त्यसो हो भने चुनाव प्रचारमा तपाईंहरूसँग हिँडेका ओसी र पिन्टु कहाँ गए त ?

उनीहरू कहाँ गए कसरी भन्न सक्छौँ हामी । टोलका गुण्डा थिए । कतै बेपत्ता भए होलान् । उनीहरूको ग्यारेन्टी हामी कसरी लिन सक्छौँ र ?

मृतक ओसीकी आमा रुक्साना खातुन, पिन्टुका बुबा श्रीनारायण सिंह र घटनाको प्रत्यक्षदर्शी समसुल मियाँले त २७ चैतमा भएको विस्फोटमा मृत्यु भएको भन्छन् त ?

कसरी त्यस्तो हुन्छ ? ती सबै झुटा हुन् । जब कि बम विस्फोट नै भएको छैन भने कसरी मृत्यु हुन्छ ?

त्यसो भए उनीहरू तपाईंहरूकोविरुद्ध किन लागे त ?

यो सबै षड्यन्त्र हो । राजनीतिक प्रतिशोध साँध्न यसो गरिएको हो ।अफ्ताव आलमको लोकप्रियता सक्न यसो गरिएको हो ।

षड्यन्त्र त आफूबराबरका सँग गर्ने हो । राजनीतिक, आर्थिक र सामाजिक हैसियतले अफ्ताव आलम रुक्साना, श्रीनारायण र समसुलभन्दा निकै माथि देखिन्छन् । उनीहरूले यस्तो षड्यन्त्र गरे भनेर कसरी पत्याउने ?

उनीहरू देखिने पात्र मात्रै हुन् । उनीहरू त गोटी मात्रै हुन् । खेलाउने त अरू नै छन् ।

जिल्ला अदालत, महान्यायाधिवक्ताको कार्यालय र पुनरावेदनले खारेज गरेको मुद्दा सर्वोच्च अदालतले किन उल्टायो त ?

यसमा यस्तो छ– उहाँहरूले जाहेरी दिनुभयो, मुद्दा अदालतमा पुग्यो, तर प्रमाण नपुगेर खारेज भयो । प्रमाण पुगेको भए त मुद्दा चलिहाल्थ्यो नि । जिल्ला अदालत, महान्यायाधिवक्ताको कार्यालय र पुनरावेदनले खारेज ग¥यो, ठीक ग¥यो । अब सर्वोच्चले किन उल्टायो, के भन्न सकिन्छ र ? मलाई शंका छ, सर्वोच्च प्रभावित भयो ।

त्यसो भए सर्वोच्चको आदेश गलत हो?

गलत हो । यसमा हामीलाई शंका छ ।

सर्वोच्चको आदेशपछि त अफ्ताव आलम फरार अभियुक्त हो । यसविरुद्ध तपाईंहरूले कानुनी उपचार किन खोज्नुभएन त ?

अफ्ताव आलम पूर्वमन्त्री मात्रै होइन, वहालवाला सांसद पनि हो । उहाँको सुरक्षाका लागि राज्यले सुरक्षाकर्मी खटाएको छ । चौबिसै घन्टा सुरक्षाकर्मीको साथ रहने मान्छे कसरी फरार हुन सक्छ ?

बम विस्फोटमा संलग्न भएको अरोप छ त ?
यो गलत हो ।

त्यसो भए अफ्तावलाई प्रहरीले अहिले किन पक्राउ गरेको हो त ?

मुलुकमा दुईतिहाइको सरकार छ । अफ्तावको लोकप्रियता सक्न योभन्दा उत्तम मौका उनीहरूले देखेनन् होला । त्यही भएर बम विस्फोटमा संलग्न भएको आरोप लगाए । पक्राउ परेको त्यही कारण हुन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad