विनितालाई लिएर संसद र संसदबाहिर पनि कतिपयले अनेक टिप्पणी र गसिप गर्छन्। कसैलाई उनी जिमखाना गएको मनपर्दैन, सदन जान छाडेर जिम गई भन्दिन्छन्। कसैलाई उनी पुरुष सांसदसँग हिँडेको, खाजा खाएको मनपर्दैन, सम्बन्ध जोडिदिन्छन्। र, सांसद भएपछि विनितालाई सबैभन्दा बढी चित्त पनि यस्तै कुरामा दुखेको छ।
‘कसैको छोरी, कसैको सांसद, कसैको श्रीमती, कसैको साथी हुनुभन्दा अगाडि म मान्छे हो नि,’ उनी भन्छिन्, ‘मान्छेमा सेल्फ केयर भन्ने पनि त हुन्छ होला। अझ म त रोगी छु। मलाई चिन्नेहरूलाई थाहा छ, मलाई स्वास्थ्य समस्या भइरहन्छ। अब म सधैँ रोगी नै भएर बस्नु त? कतिपटक म सदन गइरहेका बेला गाह्रो भएर नर्भिक हस्पिटलमा सलाइन चढाउन पुगेको उदाहरण पनि छ। म रोगी भइराखेँ भने त मैैले सांसदमा आवाज उठाउन नि सक्दिनँ होला। अस्ति एक दिन मेरो नाम नै छुट्यो किनभने मलाई माइग्रेन अट्याक भयो। त्यसकारण जिम जानु मेरो नितान्त व्यक्तिगत कुरा हो।’
लगत्तै उनले थपिन्, ‘छोरी मान्छे राजनीतिमा या संसदमा हुँदाखेरीको सबैभन्दा नराम्रो लागेको विषय भनेको म केटा भएको भए कोही पुरुष सांसदसँग खाजा खाँदा या नजिक हुँदा या कुनै ठाउँमा गएर भेटेको भए केही हुँदैन थियो। तर, महिला सांसद हुँदा नाम जोडिदिने गर्छन्। सदनभरि हल्ला चलाइदिने गर्छन्। यसरी त को राजनीति गर्न आउँछ? यस्तो कुरा मेरा बाआमाले सुन्नुभयो भने नयाँ आउने छोरीहरूलाई कसैले जान दिन्छ त? को सांसद कोसँग बोल्यो, चुग्ली लगाउने ठाउँ हो र संसद्?’
आफ्नो निजी जीवनमाथि अनावश्यक टिप्पणी गरेको उनलाई रत्तिभर मनपरेको छैन।
‘म अविवाहित छु, मैले ब्वइफ्रेन्ड बनाउन नि पाएँ, ब्वइफ्रेन्ड बनाएर डेट जान नि पाएँ,’ सदनमा झैँ विनिता कठायत प्रष्ट बोल्छिन्, ‘सदनमा दुइचारजना अविवाहितहरू हुनुहुन्छ, मैले भन्न त मिल्दैन तर पनि भनिहालेँ– डेट गर्नुस्, केही फरक पर्दैन। कसैको जीन्दगी बर्बाद नगर्नुस् तर आफ्नो खुसी नमार्नुस्।’
हेर्नुहोस्, नेपालखबर ‘संसदमा म’को यो अंकमा विनिता कठायतको अनुभूति :

प्रतिक्रिया