म्यागेजिन


गोहो: बिर्सिसकेको युद्धका घाउ सम्झाउने कथासंग्रह (पुस्तक समीक्षा)

गोहो: बिर्सिसकेको युद्धका घाउ सम्झाउने कथासंग्रह (पुस्तक समीक्षा)

गणेश पौडेल (भुजुत्ती)
साउन ३२, २०७६ शनिबार ८:४८,

सुन्नस् न, ‘तपाईंका पैतालाहरू कुन गोहोमा हिँडिरहेका छन्?’
‘गोहो रे? म त राजमार्गमा पो छु।’
‘उसो भए दुःखको गोहो पार गरिसक्नुभयो?’
‘गोहो! मलाई गोहोको के जरूरत? यी लम्बेतान राजमार्ग अरू कसैले मेरै लागि बनाइदिएका हुन्। म त विलासी कारहरूमा गुडिराखेको छु। सडकभर रातो रगत पोखिदिने लाटा जनताहरू हुँदाहुँदै केलाई चाहियो र दुःखको गोहो?’

‘भनेपछि तपाईंको जीवनले बनाएको आफ्नै कुनैै गोहो छैन?’

हत्तेरिका! म त सपनामा पो रहेछु। हैन, सपना भन्न पनि नमिल्ला। यथार्थ। यथार्थ झन् मिल्दैन। उसो भए केही न केही। केही न केही भनेर पनि अन्याय हुन्छ। ल ल फ्याक्ट भन्नुपर्दा ‘भ्रम’। यतिखेर मेरो मस्तिष्क भड्किराखेको छ। मेरो खोपडीमा कुनै नेताको भेजा पसेको छ। आफैँ सवाल गरेर आफैँ जवाफ दिइरहेको छु। तर, यो सोच्नैपर्ने विषय हो नि, हैन र?

तपाईं भन्नुस् त?— चित्त बुझेन।
तपाईं— खै प्रश्न?
बीचको तपाईं— हु केयर्स।
बीचभन्दा वल्लो तपाईं— मस्ती गर्न छाडेर वाहियात।
छेउको तपाईं।
माथिल्लो तलाको तपाईं।
तपाई, तपाईं, तपाईं। भन्नु न भन्नु।
अँ... अँ... फेरि भन्नुस् त?
प्रश्न के अरे? उफ्! अघि भनेँ त।
फेरि भन्नु रे? ल.. ल..। ‘तपाईंको आफ्नै गोहो कुन हो?’
०००

goho book

एक दिन एउटा माओवादीले मलाई पाँच रूपैयाँ दियो। किन नभन्नुस् है! बरू भन्नुस् तपाईंलाई थाहा छ, माओवादीले कसैलाई पैसा दिएको? दिएनन्। हो... हो... मलाई थाहा थियो। माओवादीले लगे मात्र दिएनन्। पैसा मात्र हैन जे–जे लगे, केही फिर्ता गरेनन्। दिए त केवल चोट र तीतो यथार्थ।
—चुलोमा पाक्दापाक्दैको भातसहितको कुकर लगे– फिर्ता दिएनन्।
—बाल्दाबाल्दैको धिप्री (पानसको टुकी) लगे– फिर्ता दिएनन्।
—लाउँदालाउँदैका अर्धना लुगा लगे– फिर्ता दिएनन्।
के–के पो लगेनन् र माओवादीले।
—कसैका आफन्त लगे।
—धेरैको खुसी लगे।
—इमोसन र संवेदना लगे।
—चैन लगे।
—भविष्य लगे।
—रगत लगे।
—प्राण लगे।

भनीसाध्य छैन। तर अहँ! केही फिर्ता गरेनन्। तपाईं भन्नुस् त —गरे? गरेनन्। गर्दै गरेनन्। केही पनि गरेनन्।

तर, मलाई एक दिन पाँच रूपैयाँ दिए। हो, म संसारकै दुर्लभ मान्छे। वाह! माओवादीले पैसा दिएको सर्वसाधारण! त्यही पाँच रूप्पेवाला नेताको भेजा यतिखेर मेरो खोपडीमा घुसेको छ।
किन अरे? अघि नै किन नभन्नुस् भन्या हैन? अब भनिहाल्नुभयो सुन्नुस् कारणचाहिँ म पछि दिउँला। बरू माओवादीलाई के–के दिनुभयो? सम्झिएर एकपटक ॐ स्वाहा भन्नुस्!
भन्नुभयो?
ल, राम्रो।

रेशमजी तपाईं पनि भन्नुस्! तपाईंका बा हेडमास्टर हैनन्? उनको त टाउको माओवादीले छिनालेर शरीर पहिरोमा फालेका थिए, हैन र? के अरे, अँ.. सुराकी? हो, सहकर्मीको आफ्नो रिसइबीका कारण सरलाई सुराकी बनाएर सफाया दिएका। पछि टाउकोविनाको शरीर पनि पो दिएनन् है? रेशमजी तपाईंकै बहिनी हैन निकिता? जसलाई सरकारी सेनाले बलात्कार गरेर हत्या गरेका थिए नि? ल, एकपटक तपाईं पनि माओवादीले सफाया दिएका बा र सेनाले बलात्कार गरेर हत्या गरेकी बहिनीलाई सम्झेर ॐ स्वाहा भन्नुस्!

समरजी, ए समर? बांगेखोलाको समर खोइ? आउनु.. आउनु.. हेडमास्टर चिन्नुहुन्छ? नरबहादुर के त? तलब खुवाउन सदरमुकाम गएर त्यहीँबाट मधेश झरेका थिए नि? हैन.. हैन.. साथीको हत्या हेर्न नसकेर सदरमुकामबाट फर्किँदै गर्दा जंगलमा झुन्डिएर मरेका थिए नि? तिलक सर चिन्नुहुन्छ? क्या त हेडमास्टरको सहपाठी। डम्मरेले तिलक सरकी स्वास्नीसँग लठारिएको गल्ती लुकाउन तिलक सरलाई सेनाको सुराकी भनेर माओवादीलाई सफाया गर्न लगाएको। तिलक सरले आफू माओवादीमा लागेर पनि आफ्नो प्राण थाम्न थमाउन नसकेको बिर्सिनुभयो? ल.. ल.. उहाँहरूको नाममा पनि ॐ स्वाहा भन्नुस्!

सूर्यप्रसाद, मधु तपाईंहरूको आफ्नै कथा छ। मलाई थाहा छ। सूर्यप्रसादले नै पार्टीको निर्देशनमा सर्वसाधारण चढेको गाडीमा बम हान्दा मधुजी तपाईंकै हो क्यारे हैन पढेर सुन्दर भविष्य बनाउने गोहोमाथि अर्धमृत्युको उपहार दिएका? काठमाडौँमा जीवन र मृत्युको दोसाँधमा बाँचिरहनुभएकी मधु र मधु चढेको गाडीमा बम पड्काएर विक्षिप्त बनेका सूर्यप्रसाद दुवै जनाले एकपटक त्यो दिन सम्झेर ॐ स्वाहा भन्नुस्! 

रमा खोइ? रमा तिमीले पनि सिंहदरबारमा तिम्रो पति शहीदको सूचीमा भेटौला नभेटौला, राहत पाऔला नपाऔला। तर अहिलेचाहिँ तिम्रो पतिको आत्मालाई ॐ स्वाहा भन ! एरिया इन्चार्ज भनिएर शहीद भएका तिम्रा पतिको आत्मा पनि भड्किएको भड्कियै छ।
लु.. लु.. फेरि सबै जनाले अन्तिमपटक ॐ स्वाहा भन्दिनुस्!
ल, अब युद्धलाई जे–जे दिनुभएको थियो, अब सकियो । दाहसंस्कार भयो । अब उनीहरूको आत्मा भड्किँदैन।
ॐ स्वाहा, ॐ स्वाहा, ॐ स्वाहा...।
००००

गोहो गोहो....! खोइ त तपाईंले आफ्नो गोहोको पत्तै दिनुभएन। भए पो अरे? मेरो पनि छैन। त्यसैले त भड्किराखेको छु।
फेरि! किन नभन्नुस् भन्या हैन। किन, किन, किन...। किन भन्दा अरू आउँदैन तपाईंलाई?
फेरि ह्या... भन्नुभयो। पख्नु न पख्नु!
दुःख देख्नुभएको छ?

‘साले, गरिबका छोरालाई दुःख सिकाउँछस्! दुःख देख्ने कुरा होइन, भोग्ने हो,’ आब्बो! क्या डाइलग मार्नुभयो। क्या डर लाग्दिरा! थर्र काँप्यो नि मेरो आँत। कस्सम यसरी त मेरो प्रेमिकालाई अर्काले उछिट्याउँदा पनि काँपेको थिएन मेरो आँत।

अँ साँच्चि सुन्नुस् त– तपाईंले प्रेम गर्नुभएको छ?

तपाईंको ह्याट्रिक रे? तपाईंको चाहिँ ब्रेकअप भइसकेको? ए तपाईंकी स्वास्नी नै छे? ठाकठुक पर्दैन?
‘ठाकठुक हैन, डिभोर्स नै भइसक्यो,’ आम्मा हो! कडा रै’छ तपाईंको जोडी।

‘के गर्नु कुरै नमिल्ने। पढेकी केटीसँग ब्या.. गरियो। सन्तान पनि भए। अब पढेका मान्छे आत्मनिर्भर बन्नुपर्छ के भनेथेँ, उसले त घरबार सबै त्यागिदिई। कहिलेकाहीँ त हप्ता दिनसम्म घरमै नआउने। छोरालाई पकाउने खुुुुवाउने मेरै जिम्मामा। अस्तिसम्म टाक्कनटुक्कन जोडी हिजोदेखि ठाक्कनठुक्कनमा परिणत भाथ्यो। आज छुट्यो। आत्मनिर्भर मेरो लागि अभिशाप बन्यो । ठ्याक्कै ‘मोचनघाट’ कथाकी उषाजस्तै थिई मेरी स्वास्नी। हैन.. हैन.. मेरै स्वास्नी नै ‘मोचनघाट’की उषा हो,’ हैट बुढाकी आधुनिक स्वास्नी कडा रै’छिन्।

ए.. ए.., ए दाइ पख्नुस्! तपाईं त्यहाँ के खोज्दै हुनुहुन्छ? हँ भैँस रे! कहाँको भैँस? कोशीले बगाएको? कहिले? बाढीमा? अनि यहाँ पाइन्छ त? हा..हा..हा...। तपाईंको त आत्मा मेरो भन्दा पनि भड्किएको रहेछ। भेलले बगाएको मान्छे त भेट्या छैन तपाईं भैँसको कुरा गर्नुहुन्छ। निदाउनुस् निदाउनुस् एकैछिन। तपाईं यहाँभन्दा नभड्किनुस्। छोटेलाल, मतिनी, सोमसेरेन सबैको आत्मा भड्किराख्या छ... कोशीको पानीसँगै। प्रकाशपुर गाउँमा अहिले अन्धकार छ। तपाईंको भैँस भेटिँदैन। लु नखोज्नु।

ल! सबै जना उठ्नुभयो त किन हो? बस्नु न बस्नु। मनोजकुमार, निकिता, झपटरत्न, मैचा, बूढीआमै लगायतका प्रेम र अहम्ले भड्किएका आत्माहरू खोतल्न बाँकी नै छ। परदेशिका कुराहरू भएकै छैनन्। परदेशीलाई अन्याय गरेर हुन्छ? देश धान्ने तिनै हुन्।

हजुर कसो अरे? जिकेलाई भन्नु रे? को जिके— जिके पोख्रेल? उनी त लेखक हैनन् र? हो हो ? तिनै बदमास लेखक? तिनैले हो भड्काएको हो मेरो आत्मा। किन नभन्नु भन्या हैन?
भनिहाल्नुभयो अब सुन्नुस्। जिकेसँग मलाई खुब रिस उठ्या छ। गोहो तिनैको कथासंग्रह हो। त्यही गोहो पढ्दै थिएँ मैले, त्यति नै खेर मेरो आत्मा भड्किएको हो। जिकेले मानव मृत्युलाई कति पनि मानमर्यादा नराखी कथा लेख्या छन्।

ए जिके यहाँ आऊ। त्यसरी मान्छेको मृत्यु– जिरो भनेर किन प्रमाणित ग¥या। जहाँ पायो जता पायो डाङडाङ र डुङडुङ मान्छे मारेको छ, तारो हानेको छ, झुण्ड्याको छ, घाँटी छिनालेको छ, पहिरोमा पुरेको छ, बलात्कार गरेर पनि मारेकै छ, बम पड्काएर पनि मारेकै छ। तिम्ले मान्छे मारेर मेरो मन भड्किएको छ। ती सबै तिम्ले मारेका मान्छेको आत्मा ममाथि चढेको छ। तिम्ले कथा भनेर यथार्थ लेखेका छौँ। गरिबी लेखेका छौ। श्रीमान् श्रीमतीबीच वैचारिक मदभेद र अहम् लादेर परिवार उजाड पारेका छौ। वृद्धवृद्धालाई रूवाउँदै मूर्छा पारी पारी मारेका छौँ।

‘सुराकी’ कथामा एउटा शब्द छ ‘सोल्लर’। अमिलो सोल्लरसँगै मरिसकेकी मेरी हजुरआमालाई सम्झाएर रूवाउने? मेरो आत्मा भड्काउने? सिपाहीहरूले प्रेम गर्न नपाउने? घरकीसँग तालमेल नमिलेपछि अर्कीसँग खेल खेले त के भो? मार्नैपर्छ?

जनताले कहिल्यै सम्झिन नचाहेको र माओवादीले समेत बिर्सिसकेको युद्धका घाउलाई किन उप्काएको? त्यसरी उप्काउँदा पीडाले मेरो मन भड्किएको छ। भुइँमान्छेका भुइँ कथाहरूसँग त्यसरी खेल्न पाइन्छ? विदेशी संस्थाहरूले देख्ने, पत्रकारहरूले देख्ने, जाली फटाहाले देख्ने, लेखकले देख्ने, कार्यकर्ताले देख्ने तर नेताले चै किन नदेख्ने? बरू कथा नलेखी नेताको कानमा हाम्रो वेदना सुनाइदिएको भए के हुन्थ्यो?

कसो अरे? आफैं न्यारेट गर्ने रे? के भन्छौ ‘मेरो गोहो पढिदिनु त भन्ने होला?’ त्यति त म आफैँ भनिदिन्छु।
ल सुन...

प्रिय पाठक ममा यतिखेर जिकेको आत्मा बोलिराखेको छ। कुरो के भनेदेखि तपाईं हामी सबैका आफ्नाआफ्नै गोहो छन्। विगत लामो समयदेखिको राजनीतिक सङ्क्रमणकाल हामी सबैले भोगेका छौँ। बारबार राजनीतिले हामी सोझासाझा गरिब जनतालाई पिसिरहेको छ । दुःखले बनाएको हाम्रो गोहोमाथि धावा बोलेको बोल्यै छ । माओवादीले दश वर्ष युद्ध ग¥यो । जनतालाई सपना देखाएर युद्धमा होमिदियो। दाइले भाइ मा¥यो। भाइले दाजु। सत्र हजारभन्दा धेरैले देशका खातिर रगत बगाए। हजारौँ हजार बेपत्ता छन्। हजारौँ घाइते छन् । तर, आज माओवादी स्वयम् जनयुद्ध बिर्सिएर, जनताका सपना बिर्सिएर कतै विलासितामा बिलाएको छ।

लु भयो भयो। जिकेको आत्मालाई यहीँबाट बाइबाई। अब बाँकी तपाईं पाठकको न्यारेसन।

गोहो कथासंग्रहभित्र पाँचवटा कथाहरू जनयुद्धको पेरिफेरीमा लेखिएका छन्। तर ती कथाले जनयुद्धको आवरण देखाउँदैनन्। जनयुद्धभित्र पनि अरू धेरैवटा पाटा थिए। अरू धेरै गोहो थिए। जस्तैः जनयुद्ध निष्पक्ष थिएन। पर्सनल रिसइबीले व्याप्त थियो। जसलाई जे गर्न मन लाग्यो छुट थियो। कसैसँग बदला लिनुपरे सुराकी भनेर मारिदिए भइहाल्थ्यो। प्रतिशोध देखाउनकै लागि कति माओवादी भएको झूटो भ्रम फैलाए। सरकारी सैनिक पनि उस्तै मनोमानी गर्थे। युद्धको फाइदा उठाएर लडाकु खोज्ने बहानामा गाउँगाउँ छिर्थे। गरिब किसानका छोरीचेली उठाउँथे। केरकारको बहानामा धरपकड गर्थे। बलात्कार गर्थे। हत्या गर्थे। र तिनै आफ्ना कुकृत्यहरूलाई मूठभेड हुँदा मरेको समाचार फैलाइदिन्थे। यी पाँचैवटा कथाले रणमैदानभित्रका यस्तै सतहलाई सम्बोधन गरेका छन्।

गोहोभित्र अरू पनि कथाहरू छन्। ‘भैँस’ कथाले तराई मधेशको दुःख र सन्त्रास देखाउँछ । ‘मोचनघाट’, ‘झपटबहादुर’, ‘दृष्टिभ्रम’ र ‘पर्दाभित्रको मान्छे’जस्ता कथाले पारिवारिक बेमेल र सङ्कट बोल्छन्।
जिकेले गोहोमा राजनीति र समसामयिक विषय हाल्न खोजेका छन्। यस कुरामा उनी सफल पनि देखिन्छन्। तर केही कुरामा भने लेखक चुकेका छन्। शैली लोभलाग्दो भए पनि कथा अलि लामा छन्। कुनै कुनै कथा जबर्जस्ती तन्काउन खोजिएजस्तो लाग्छ । प्रायः कथा एकै पेरिफेरीमा बगेका छन्। मास्टरी पेसा प्रायः सबै कथाका कुनै न कुनै पात्रले अँगालेका छन्। यसको मतलब लेखकले आफ्नो अध्यापन पेसालाई कथामा हाबी गराएको भान हुन्छ। कतिपय कथाको अन्त्य खजमजिएको भान हुन्छ। ‘सस्पेन्स’ र ‘फिक्सनाइजेसन’मा जिके चुकेकै हुन् । कथाहरूमा कथ्य (कला?) गौण छ र यथार्थ (घटनावली) हाबी छ। ‘क्रिएटिभिटी’ र नयाँपन कम छ।

यी केही कमजोरीका बाबजुद समग्रमा गोहो पठनीय छ। पाठकको ध्यान मजाले तान्छ– दिमागमा रनन्न हुने गरी हान्छ। कति ठाउँमा थाहै नपाई आँशुसमेत रसाउँछन्। गोहो सङ्क्रमणकालीन समयको प्रतिनिधि ऐना हो। जो हामी भुल्न चाहन्छौँ तर सकिँदैन। गोहो पाठकको मनमा गोहो बनाउन सफल छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .